‘बा’ संस्कृतिले व्यवस्था बिगार्यो : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रवृतिले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । नेकपा (बहुमत) ले बिहीबार संसद विघटनविरुद्ध नागरिक समाजका अगुवाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले ओली प्रवृति खतरनाक तानाशाहका रूपमा अगाडि आइरहेको टिप्पणीसमेत गर्नुभयो ।
संसद विघटनमा नेकपा पनि जिम्मेवार हुने सहभागीहरूको धारणामाथि टिप्पणी गर्दै उहाँले ओलीका गलत कार्यशैलीविरुद्ध पार्टीमा लड्दा आफूहरू पीडित भएको बताउनुभयो ।
उहाँले ‘बा’ संस्कृतिले नेकपा र लोकतन्त्रलाई नै खान खोजिरहेकोले यसका बिरुद्ध पार्टीमा संघर्ष गर्दा आफूलाई भित्तामा पुर्याइएको स्मरण गराउनुभयो । ‘उनका वरिपरी घुम्ने र ‘बा’ भनेर बोलाउनेबाहेक अरुलाई गन्दै नगन्ने र नटेर्ने भएपछि आफूहरू आजित भएको उहाँको भनाई थियो ।
संसद विघटन हुनुमा नेकपाका अन्य नेताहरूले ओलीलाई ‘चेक एण्ड ब्यालेन्स’ को सिद्धान्तमा राख्न नसकेको जिज्ञासामा उहाँले भन्नुभयो ‘त्यतिबेला बोल्दा पार्टीको कुरा बाहिर भने जस्तो हुने तर हामीहरूले जति प्रयास गरेपनि ओलीलाई सुधार्न सकेनौं,त्यो म त्यो स्वीकार गर्छु । उनी पार्टीलाई नै नटेर्नेगरी स्वेच्छाचारी बाटोमा हिँडेपछि के गर्न सकिन्छ ?’
अध्यक्ष नेपालले ओली व्यक्तिका विरुद्ध नभई प्रवृतिका विरुद्ध अहिले संघर्ष गर्नुपरेको पनि बताउनुभयो । ओली प्रवृतिले संस्थागत प्रणाली, लोकतन्त्र, संविधान र समाजका सबै क्षेत्रमाथि प्रहार गरेको उहाँको भनाई थियो ।
टिप्पणीहरू