अहिले बिहानदेखि देशभर के के हुँदैछ ?

अहिले बिहानदेखि देशभर के के हुँदैछ ?

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले सरोकारवाला संघसंस्थाहरू तथा ईच्छुक व्यक्तित्व,बुद्धिजिवी तथा अभियन्ताहरूसँग मनाङ गुम्बा बिहान साढे आठ बजेदेखि छलफल कार्यक्रम राखेको छ ।

आजै साढे नौ बजे नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले प्रतिनिधिसभा विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाउँदै छ । मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् गरिने उक्त कार्यक्रम काठमाण्डौको निम्ति बबरमहलमा भेला हुने कार्यक्रम छ ।

सोही पार्टीको जिल्ला कार्यसमिति भक्तपुरले पनि साढे नौ बजे जिल्ला प्रशासन कार्यालयमा बिरोधपत्र बुझाउने जनाएको छ ।

उता,आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयले गत भदौमा जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ मा आंशिक प्राध्यापकलाई अपमान हुने शब्द र वाक्य प्रयोग गरिएको भन्दै त्यसको पुर्नलेखनको माग राखी उपकुलपतिको कार्यालय,कीर्तिपुर बिहान १० बजेदेखि धर्नाको कार्यक्रम राखेको छ ।

त्यसैगरी विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमविरुद्ध बिहान साढे १० बजे माइतीघर मण्डलामा ऐना देखाएर बिरोध प्रदर्शन गर्ने भएको छ ।

ओलीनिकट नेकपा जिल्ला कमिटी काठमाण्डौले उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा रोयल ब्याङ्क्वेट,तीनकुनेमा जनप्रतिनिधि भेला कार्यक्रम राखिएको छ ।

नेपाल तरुण दल,मध्यपुर थिमि नगर कार्यसमितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्यमा बिरोध ¥यालीसहित मध्यान्ह साढे बाह्र बजे बाहाखा बजारमा सभाको आयोजना गरिएको छ ।

नेकपा ओली समूहको जिल्ला कमिटी ललितपुरले शिक्षा तथा विज्ञान मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा लुभु पार्टी प्यालेस महालक्ष्मी,ललितपुरमा मध्यान्ह साढे बाह्र बजे बृहत् कार्यकर्ता भेलाको आयोजना गरिने भएको छ ।

नेपाल विद्यार्थी संघ,केन्द्रीय कार्य समितिले संसद विघटनको बिरुद्ध उल्टो हिँडेर माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने भएको छ । उता संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अछाम–काठमाडौं सम्पर्क मञ्चले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको प्रमुख आतिथ्यमा क्वालिटी ब्याङ्क्वेट,बुद्धनगरमा दिउँसो १ बजे बृहत् कार्यकर्ता भेलाको कार्यक्रम राखिएको छ ।

जनता समाजवादी पार्टी,नेपाल र नेवाः राष्ट्रिय समितिले प्रतिनिधिसभा विघटनविरुद्ध शंखधर चोक,भक्तपुरमा दिउँसो २ बजे जनप्रदर्शन कार्यक्रम राखेको छ ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राखी दुई सातादेखि ट्रमा सेन्टरमा गर्दै आएको सत्याग्रहलाई आज पनि जारी राखेकी छिन् ।

आंशिक प्राध्यापक संघ,पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रीय निर्देशनअनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा असोज १२ गतेदेखि लगाउँदै आएको तालाबन्दीलाई आजपनि जारी राख्ने भएका छन् ।

टिप्पणीहरू