‘जुरिमेटिक रिसर्च’ को फन्दामा श्रीमानहरू
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट ब्याक हुनुभएपछि बालुवाटारलाई ठूलो ‘सेट ब्याक’ भएको छ । यसअघि बालुवाटार इजलासको कम्पोजिशनबाट ढुक्कको स्थितिमा थियो । उच्च स्रोतका अनुसार न्यायाधीश कार्कीले आफ्ना अति निकटस्थहरूसँग केहि दिन पहिले ‘प्रधानमन्त्रीले गलत गर्नुभएको हो । तर पनि म चाँहि केपीको विरुद्धमा जान सक्दिनँ भन्नुभएको’ हल्ला एकथरिले चलाएका थिए ।
उक्त घटनाबाट प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र न्यायाधीश कार्कीलाई पनि राम्रै सेट ब्याक भएको छ । तर,उक्त घटनाले बृहत् पूर्ण इजलास गठनको लागि खासै असर नगर्ने स्रोतको दाबी छ । आगामी बुधबार नयाँ इजलास गठनपछि पुनः सुनुवाई शुरु हुने र प्रधानन्यायाधीशले बृहत् पूर्ण इजलास गठन गर्न उपयुक्त देखे सम्भवतः त्यहि दिन प्रतिनिधिसभा विघटनको विरुद्धमा परेको मुद्दालाई त्यता पठाउने आदेश हुनसक्ने उच्च स्रोतले बताएको छ । त्यसो भएको अवस्थामा आगामी बुधबारपछि मात्र नियमित सुनुवाई हुनेछ ।
संवैधानिक इजलासमा रहेका पाँचजना न्यायाधीशमध्ये विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसी दुईजना मात्र करियर पाथबाट न्यायाधीश बनेका हुन् । अरु सबै वकिल पेशा र राजनीतिक ब्याकअपबाट त्यहाँ पुगेका हुन् । फैसला लेख्ने राम्रो कला भएकाले न्यायाधीश केसीलाई हरेक प्रधानन्यायाधीशले माया गर्ने गरेका छन् । यद्यपि रोल क्रमानुसार इजलासमा राखिएको भए अरु चारजना करियर पाथबाट आएका न्यायाधीशलाई राख्न सकिनेतर्फ अदालतको नेतृत्वले जानेर वा नजानेरै आँखा चिम्लिदिएको कतिपयको भनाइ छ ।
त्यसो गरिएको भए न्यायाधीशहरूमध्ये दीपक कार्की,मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहन्थे । प्रकाश राउतले कोरोनाको कारण म आउन सक्दिनँ भनेपनि हरिकृष्ण कार्की रहनसक्ने अवस्था हुँदैनथ्यो । त्यस्तो अवस्थामा अधिकांश करियर पाथका न्यायाधीश रहेको संवैधानिक इजलासको गठन हुन्थ्यो । तुलनात्मक रूपमा करियर पाथबाट माथि पुगेका न्यायाधीशहरू विवादमा आउन चाहँदैनन् । उनीहरू सकेसम्म कानुन र विधिलाई नै हेर्छन् । भोलिका दिनमा संसदीय सुनुवाई समितिमा चर्को मूल्य तिर्न नपर्ने गरी आफ्नो तजबिजी र ब्रम्हलाई पनि प्रयोग गर्छन् ।
तर,राजनीतिक स्वाद लिएर न्यायाधीश बनेकाहरूलाई त्यस्तो अवसर नहुने दाबी गर्दै स्रोत भन्छ ‘उनीहरू जहिले पनि राजनीतिक हावा बहेको दिशा अनुमान गर्दै अघि बढिरहेका हुन्छन् ।’ अरुको तुलनामा बरु प्रधानन्यायाधीश राणा नै पुनरावेदन,विशेष हुँदै सर्वोच्चमा आएकाले कम्तिमा न्यायिक मार्गमै लामो अनुभव हासिल गरेको मान्न सकिन्छ । सर्वोच्चमा अहिले धेरैजसो न्यायाधीश कानुन व्यवसायीको भूमिका निभाउँदा निभाउँदै राजनीतिक दलको भागबण्डामा सोझै आएको देखिन्छ ।
प्रतिनिधिसभा विघटनबिरुद्धको मुद्दाले न्यायाधीशहरूको विगत र विभिन्न सम्बन्धलाई पनि रौं र छाला समेत केलाउने अवस्थाको सिर्जना गरिदिएको छ । कानुनी भाषामा उक्त कार्यलाई ‘जुरिमेटिक रिसर्च’ भनिन्छ । यसमा एउटा न्यायाधीश कसरी हुर्कियो,कहाँ पढ्यो,को कोसँग संगत गरेको थियो भन्ने कुराको केस्रा केस्रा केलाइन्छ । आखिर वकिलहरूको हुल र आवाजले चाहे भने शक्ति केन्द्रको योजना ध्वस्त बनाउन सक्छन् भन्ने कुरालाई पनि यो प्रकरणले प्रमाणित गरिदिएको छ ।
टिप्पणीहरू