संबैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ रोकियो, मोहम्मद आफ्ताब आलमको मुद्दामा पेशी चढ्यो
१४ जनाको विभत्स हत्या गरेको अभियोगमा पुर्पक्षका लागि नख्खू कारागारमा थुनिएका पूर्व श्रममन्त्री तथा काँङग्रेस सांसद मोहम्मद आफ्ताब आलमको मुद्दाको पेशी आज सर्वोच्च अदालतमा पेशी चढेको छ ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा उक्त हत्याकाण्ड आलमको मुख्य योजनामा गरिएको भन्दै प्रहरीले उनलाई २६ असोज २०७६ मा पक्राउ गरेको थियो । जिल्ला अदालत रौतहटमा भएको थुनछेक बहस २९ कात्तिकदेखि उनी पुर्पक्षका लागि थुनामा छन् ।
आलम जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ । आलमविरुद्धको मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले हेर्ने भएको छ ।
उनीविरुद्ध बिस्फोटक पदार्थ (बम) प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यतिबेला प्रहरीले जाहेरी लिन मानेको थिएन । पछि जिल्ला सरकारी वकिलको कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दाको गहन अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले पटक पटक आदेश दिए पनि सत्ता र शक्तिको प्रभावमा आलमले अनुसन्धान अघि बढाउन दिएका थिएनन् । सर्वोच्चले पुनः २०७६ असारमा आदेश दिएपछि प्रहरीले घटनाको फाइल खोलेर अनुसन्धान अघि बढाएको हो । आलममाथि उनको प्रत्यक्ष निर्देशनमा जिउँदै मान्छेलाई इँट्टा भट्टामा जलाएर मारेको अभियोग लागेको छ ।
टिप्पणीहरू