माधवकुमार नेपालको किन मानमर्दन ?
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी ओलीले ‘प्रचण्डको कार्यकर्ता’ भनिदिनुभयो । ०५० सालदेखि लगातार १५ वर्ष पार्टी महासचिव भएर ०६४ को निर्वाचनमा पराजित भएपछि राजीनामा दिएका नेपाललाई त्यसरी मानमर्दन गर्नु कति ठीक थियो ? हिजो माधवकुमार पार्टी नेतृत्वमा हुँदा आजका प्रधानमन्त्री स्वयं उहााअन्तर्गत हुनुहुन्थ्यो । किनकि तत्कालीन एमालेको विधानमा महासचिव नै प्रमुख कार्यकारी पद मानिन्थ्यो । यसरी आफूसँग नहुँदा राजनीतिक संस्कार र मूल्यसमेतको बर्खिलाप हुने गरी आक्षेप लगाउनुले स्वयं प्रधानमन्त्रीको कदलाई उँचो बनायो कि घटायो भन्ने सवाल बौद्धिक जगतमा गर्न थालिएको छ ।
माधवकुमार नेपाललाई जतिसुकै आरोप र आक्षेप लगाइए पनि कम्युनिष्ट पार्टीमा संकट पर्दा र देशी–विदेशीले समन्वय गरी राष्ट्रिय मुद्दामा मध्यस्थकर्ताको प्रमुख भूमिका आवश्यक पर्दा विगतमा उहाँ आवश्यक पात्र हुनुहुन्थ्यो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन रोल्पा र सिलिगुडी वार्ता गराउने को थियो ? पोहोरै ओली सरकार ढालेर प्रधानमन्त्री बन्ने अफर आउँदा यस्तो काम गर्न हुन्न भनेर रोकिने काम कसले ग¥यो ? अहिलेको विभाजनमा पनि हेर्दा माधवकुमार नेपाललाई होच्याउने र कमजोर पार्ने हिसाबले जानु स्वयं प्रचण्डका लागि पनि राम्रो होइन । आज पनि अध्यक्ष प्रचण्डलाई युरोपियन–अमेरिकन र पश्चिमा शक्तिले भर–पत्यार गर्न सकेका छैनन् । उहाँको द्वन्द्वकालीन छवि, विभिन्न खालका गैरन्यायिक हत्या, हिंसा र गैरलोकतान्त्रिक पृष्ठभूमिको कारण अन्तर्राष्ट्रिय जगतले खुलेर विश्वास गर्न नसकेको हो । यस्तो अवस्थामा नयाँ बनेको र बन्ने क्रममा रहेको पार्टीमा माधवकुमार नेपाललाई नै संसदीय दलको पनि नेता स्वीकार गरी जान सकेको भए बढी भरपत्यार गर्न सकिने अवस्था बन्न सक्थ्यो भन्नेहरू पनि छन् । त्यसो गर्न सकिएको भए प्रधानमन्त्रीले प्रचण्डको मामुली कार्यकर्ता भन्ने ठाउँ पनि रहन्नथ्यो कि ?
अहिले प्रधानमन्त्री ओलीले प्रचण्डलाई पदलोलुप, परिवारवादी र संकीर्ण घेराभित्र रहेको भन्नेजस्ता आरोप लगाइरहँदा भावी प्रधानमन्त्री र संसदीय दलको नेतामा माधवकुमार नेपाललाई अघि सार्न सकेको भए स्वयं प्रचण्डलाई लगाइने गरेका त्यस्ता आरोपबाट बच्न सकिने अवस्था थियो । त्यो कुरामा माधव–प्रचण्डले नेतृत्व गरेको राजनीतिक शक्ति कताकता चुकेको हो कि भन्ने लाग्छ । त्यसो भएको भए उहाँहरूले उठाउँदै, आन्दोलन गर्दै रहेको संसद् पुनःस्थापनाको मुद्दा पनि राजनीतिक दृष्टिले थप बलियो बन्न सक्थ्यो । प्रचण्ड केवल पदका भोका हुन् भन्ने विपक्षीले लगाइरहेको आरोपबाट बच्ने ठाउँ पनि हुन्थ्यो । खैर त्यो भएन वा गर्न सकिएन । अब पनि फेरि माधवकुमारमाथि प्रधानमन्त्रीले लगाएको आरोप पखाल्ने र प्रचण्ड आफूलाई पद चाहिएको छैन भन्ने देखाउने हो भने माधवकुमारलाई १ नम्बरको नेता मानेर अघि बढ्दा नै बढी परिपक्व बन्न सक्ने देखिन्छ । अदालतमा संसद् विघटनको मुद्दा संवैधानिक बेञ्चमा गएको र बहसका क्रममा रहेकाले भोलि जे होला आजको राजनीतिक स्ट्याण्ड किन कमजोर पार्ने भन्नेतर्फ सोच्नुपर्ने हो । प्रधानमन्त्री ओलीबाट अलग भइसक्दा पनि फेरि प्रचण्डलाई नै पद चाहिनेजस्तो गरी बाहिर देखिनु र देखाइनुले त्यो समूहलाई राजनीतिक घाटा हुनसक्ने आकलन गरिएका छन् ।
सवाल अलग राजनीतिक धारको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीले के–कस्ता आक्षेप लगाउनुभयो भन्दा पनि प्रचण्डको विगतको एउटा कोणबाट धुमिल भएको राष्ट्रिय–अन्तर्राष्ट्रिय छविलाई राजनीतिक हिसाबले पखाल्नुपर्ने अवस्था पनि थियो । मानिसहरू हिजो प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दुई अध्यक्ष स्वीकार गरी नेकपाको एकीकरण भनिरहँदा पनि माधवकुमार नेपाल स्वयंले त्यो समूहमा के–कति अपमान सहनुप¥यो भन्ने त छर्लंगै छ । सोही इवि र विगतको तीतो पोख्न पनि प्रधानमन्त्रीले माधवकुमार नेपाललाई राजनीतिक संस्कार नाघेर होच्याउने वाक्य बोलेको देखिन्छ ।
आफूसँग छुट्टिनेबित्तिकै तथानाम आरोप र आक्षेप लगाउने कस्तो राजनीतिक मूल्य र संस्कारमा हामी गइरहेका छौं ? लोकतन्त्र र गणतन्त्र भनेको आरोप–प्रत्यारोप गर्ने मात्र व्यवस्था हो ? अवश्य होइन र हुनुहुन्न । आफ्ना विचार, मूल्य, सिद्धान्त, दलीय संलग्नता र राजनीतिक मुद्दा फरक पर्न सक्छन् । संगठन र पार्टी पनि फरक हुन सक्छ । व्यक्तिले रोजेको पार्टी र शक्तिमा आफूलाई संगठित गर्न सक्छन् । लोकतन्त्रमा यस्तो हुनुलाई स्वाभाविकै मानिन्छ । तर, के अब पार्टी, समूह र विचार फरक भइदियो भने जे पनि आरोप लगाइदिने ? यही हो हाम्रो राजनीतिक संस्कार र लोकतान्त्रिक मूल्य ? यस्तो संस्कारले हामीलाई कहाँ लैजाला ?
माधवकुमार नेपाल र प्रचण्ड भएको पार्टीमा फेरि पनि माधवकुमारलाई नै अपमानित गर्ने प्रकारका हर्कत र व्यवहार भए र हुँदै जान्छन् भन्ने आकलनले गर्दा नै प्रधानमन्त्री ओलीले त्यसरी प्रचण्डको मामुली कार्यकर्ता भनेका हुन् । तत्कालीन एमालेको महाधिवेशनमा चानचुन ४५ मतले मात्र माधवकुमार नेपाल हारेका हुन् । अर्थात् प्रधानमन्त्री ओली र माधवकुमार नेपालको समूहमा खासै केही ठूलो संख्यात्मक अन्तर पनि थिएन । यस्तो अवस्थामा माधवकुमार नेपालसँग साथ, सहयोग र राजनीतिक–वैचारिक निकटता भएका सबैजसो नेता–कार्यकर्ता अहिले माधव जहाँ हुनुहुन्छ त्यहीँ छन् । संसद्, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश सभामा प्रतिनिधित्व गर्नेको संख्या हेर्ने हो भने पनि अब एकातर्फको नेता माधवकुमार नेपाल नै हुनुपर्दछ भन्ने परिदृश्यले देखाउँछ । उताको नेता प्रधानमन्त्री ओली हुनुहुन्छ भने यता माधवकुमार नेपाल किन नहुने ? यदि, प्रधानमन्त्री ओलीले प्रचण्डलाई लगाएजस्तो पदको लोभी र परिवारको घेराभित्र रहेको होइन भने प्रचण्डलाई माधवकुमार नेपाललाई पहिलो अध्यक्ष स्वीकार गर्न केले रोकेको छ ? होइन नयाँ बन्ने र बनाइने पार्टीमा पनि उही पुरानै रोग र संकीर्ण मानसिकता हाबी हुने हो भने प्रधानमन्त्रीले लगाएजस्तो आरोप फेरि नागरिकको तहबाट पनि लाग्न सक्छ । यसैले १५ वर्ष पार्टीको महासचिव भइसकेको, समन्वयकारी भूमिका निभाउन सक्षम र देशी–विदेशी शक्तिले भर पत्यार गर्न सक्ने व्यक्तित्व पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अपमानित गर्ने सोच, व्यवहार र तरिकालाई सच्चाउँदै अघि बढ्न सक्नुपर्छ ।
नयाँ राजनीतिक समीकरण बनाएर मुलुकलाई निकास दिनु माधव–प्रचण्डको पार्टीको मूल एजेण्डा हो भने प्रधानमन्त्री ओलीसँग राजनीतिक टक्कर दिने माधवकुमार नेपाललाई नै अगाडि ल्याउनुपर्छ । दुई दल मिल्दा दुई अध्यक्षको हिसाबले प्रचण्ड र प्रधानमन्त्री समान हैसियतमा देखाइएका थिए । अब सो पार्टी र समूहमा प्रधानमन्त्री ओली नभएपछि माधवकुमार नेपाल सबैभन्दा माथि हुनुलाई स्वाभाविक मान्न हिचकिचाउनुहुन्न । यसो गर्न सकेको खण्डमा मात्र प्रधानमन्त्री ओलीको राजनीतिक आरोपको प्रतिकार गर्न सक्ने आधार खडा हुन्छ ।
टिप्पणीहरू