ठाउँ ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (बहुमत) का युवा तथा विद्यार्थीहरुले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीले जननिर्वाचित संस्था भङ्ग गरेर देश र जनतामाथि गद्दारी गरेको भन्दै उनीहरुले बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङ,अनेरास्ववियु केन्द्रीय सदस्य अनुप पोखरेल,शंकर घर्तीलगायतले ओलीले कम्युनिष्ट आन्दोलनको भविष्यमाथि गद्दारी गरेको बताएका थिए ।
उनीहरुले ओलीको कदम जनताको भावना र आकांक्षाविरुद्द रहेको भन्दै आपत्ति जनाए । बिहीबार नै अनेरास्ववियुले देशभर प्रधानमन्त्रीको पुत्ला जलाएको थियो । नेकपा (बहुमत) प्रधानमन्त्री ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनमा छ । संसद पुनस्र्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने घोषणा गरेको सो पार्टी हाल दोस्रो चरणको आन्दोलनमा छ ।
हिजै अनेरास्ववियुले उपत्यकाका विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । प्रधानमन्त्रीले जननिर्वाचित संस्था विघटन गरेर संविधानमाथि ‘कू’ गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले चर्को नाराबाजीसहित पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले हिजो अपरान्ह ३ बजे नेपाल कमर्स क्याम्पस,मीनभवन अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
सो क्रममा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडपसमेत भएको थियो । त्यसैगरी प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसमा पनि विद्यार्थीहरुले क्याम्पसभित्रै पुत्ला जलाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने कदम विरुद्ध आन्दोलनमा होमिएको अनेरास्ववियुले ठमेलस्थित अमृत साइन्स क्याम्पसअगाडि पनि पुत्ला जलाएको थियो । अस्कल क्याम्पस युनियनका अध्यक्ष खेम सिंहको नेतृत्वमा विद्यार्थीहरुले ‘असंवैधानिक कदम र ‘कु’ खारेज गर !’, ‘संसद अधिवेशन सुचारू गर !’ जस्ता नारा लगाएका थिए ।
अनेरास्ववियू त्रिवि कमिटीका संयोजक लोकेन्द्र ऐरको नेतृत्वमा कीर्तिपुरस्थित घडी भवन अगाडि पनि प्रधानमन्त्रीको पुत्ला दहन गरिएको जनाइएको छ । सोक्रममा प्रहरीले पुत्ला खोसेर भीडलाई तितरबितर बनाएपछि विद्यार्थीहरुले कोणसभा गरेका थिए ।
उता,बुद्धनगरस्थित इन्द्रेणी फुडल्याण्ड अगाडि अनेरास्ववियूका केन्द्रीय सदस्य आरती लामाको नेतृत्वमा विद्यार्थीहरुले नाराबाजी गरेका थिए । प्रतिनिधिसभा विघटन विरुद्ध पूर्वघोषित दोस्रो चरणको कार्यक्रमअन्तर्गत बिहीबार अनेरास्ववियुले देशैभर प्रधानमन्त्रीको पुत्ला जलाएको थियो ।
टिप्पणीहरू