देशैभरबाट प्रधानमन्त्रीलाई सम्बिधान उपहार
प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी आन्दोलनमा होमिएको नेकपा (बहुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोधपत्र पठाएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् बिरोध पत्र बुझाउने पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत संघीय राजधानी काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई पनि बिरोधपत्र बुझाइएको छ । नेकपाका युवा नेता तथा काठमाडौँ जिल्ला सचिव हिमाल शर्मा नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर बिरोधपत्र बुझाएको हो ।
पत्रमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी कदम भन्दै तत्काल सच्याउन माग गरिएको छ । प्रधानमन्त्री ओली प्रतिगामी र निरंकुश शासकका रूपमा चित्रित भएको पत्रमा उल्लेख छ । पत्रमा ‘तपाईंले संविधानलाई धुजा धुजा पार्ने प्रयास गरेर नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उपलब्धिका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई धवस्त पार्ने प्रतिगामी र निरङ्कुश शासकका रूपमा तपाईं केपी शर्मा ओली चित्रित हुनुभएको छ’ पत्रमा भनिएको छ ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै बिरोध पत्रमा लेखिएको छ ‘तपाईंले राम्रोसँग संविधान त अध्ययन गर्नुभएको छ ? तपाईंको यस भूमिकाले संविधान अध्ययन गरेजस्तो लागेन त्यसैले संविधानको अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत् नेपालको संविधान २०७२ पुस्तिका पठाएका छौँ ।’
बिरोधपत्रमा प्रतिनिधिसभा विघटन गरी जनमतको समेत अपमान भएकाले जनतासमक्ष याचना गरी सो कदम सच्चाउन आग्रहस्वरूप बिरोध पत्र पठाएको जनाइएको छ । प्रशासन कार्यालय जानुअघि ठूलो संख्यामा नेकपाका कार्यकर्ताहरू बबरमहलस्थित सडक विभागमा जम्मा भएका थिए । जुलुससहित नाराबाजी गर्दै प्रशासन कार्यालय पुगेर उनीहरूले सिडिओलाई बिरोध पत्र बुझाएका हुन् ।
जुलुसका सहभागीहरूले ‘प्रधानमन्त्री संविधान पढ है,संसद विघटनको धारा खै ?’, संसद विघटन मान्दैनौं, ‘प्रतिगामीहरू होशियार’ जस्ता नारा लगाएका थिए । नेकपा बहुमतले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएका छन् ।
टिप्पणीहरू