चोलेन्द्र श्रीमान् र सर्वोच्च अदालत

चोलेन्द्र श्रीमान् र सर्वोच्च अदालत

श्रीमतीलाई घरमै मारेर, गाडीको डिकीमा कोचेर चित्लाङ पुर्याई मट्टितेल छर्केर शव जलाएको अपराध स्वीकार गरेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई जुनुसुकै बहानामा छाडिए पनि बदनामी प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको भयो । क-कसले भनसुन गरेर कोइराला छुटे ? त्यो अर्कै पाटो होला । तर, अरुको स्वार्थमा जोडिएको बाध्यता र भनसुनबाट अरुले नै फाइदा लिएपनि बदनामी भने चोलेन्द्र श्रीमानको भागमा परेको पक्कै हो । यो कुरो श्रीमानलाई समेत राम्रोसँग पछि थाहा भएको हुनुपर्छ  ।

जसले घुमाउरो तरिकाले रञ्जनलाई छुटाए, तिनैले महाभियोगको धम्कीसमेत दिन लगाए ।

कोइरालालाई बेला नपुग्दै जेलबाट छुटाउने  डिजाइनअनुसार प्रधानन्यायाधीशलाई नजानिँदो ढंगले परिचालन गरिएको बताइन्छ । किनभने पार्टी एकतादेखि नै तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई के थाहा थियो भने त्यो कृत्रिम जोडजाड र क्षणिक मात्र हो । आफू प्रधानमन्त्रीमा रहिरहन कुनैपनि बेला पार्टीभित्रका सबै बिरोधीलाई हैसियतअनुसारको धक्का दिएर निकाल्नुपर्छ भन्ने पहिल्यै हेक्का थियो ।

त्यहि दिनदेखि हरेक कुरा मिलाउँदै राणालाई कमजोर बनाउने,अनि जे भनेपनि मान्न बाध्य बनाउने किसिमका काममा ‘इन्गेज्ड’ गराइएको थियो । सर्वोच्चले रञ्जनलाई छुटाएपछि ‘दायाँ बायाँको अवस्थामा महाअभियोग’ को फन्दा देखाइ राखियो ।

स्रोत भन्छ ‘जसले घुमाउरो तरिकाले रञ्जनलाई छुटाए, तिनैले महाभियोगको धम्कीसमेत दिन लगाए ।’ त्यसपछि बालुवाटारले ‘न्यायालयलाई कमजोर बनाउन आफ्ना मान्छे पनि भर्ना गर्ने र अर्कोतिर भइरहेका तुलनात्मक राम्रा  श्रीमानहरूलाई दबाब दिने र अन्ततः अदालतलाई कमजोर बनाउने’ काम गरिरह्यो ।

रञ्जन कोइराला प्रकरणमा अरुको भनाई सुन्दा फाइदा अरुले लिए तर ती बदनाम भएनन् । किनकि ती पर्दा पछाडिका थिए ।

सर्वोच्च अदालत स्रोत भन्छ ‘उक्त कुरा प्रधानन्यायाधीशज्यूले बुझ्न जरुरी छ । सायद उहाँले बुझ्नुपनि भएको छ होला ।’ पुस ५ गतेपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अदालत र न्यायाधीशका सामुन्ने सबैभन्दा चुनौतिपूर्ण अवस्था अहिले  देखिएको छ । त्यसैले यस्तो अवस्थामा संविधान र कानुनको पक्षमा उभिएमा मात्रै न्यायाधीश सुरक्षित हुन्छ । कसैका भनसुनमा लागियो भने न्यायाधीश कमजोर र असुरक्षित हुने सर्वमान्य सिद्धान्तलाई सर्वोच्चका अधिकांश श्रीमानले महसुस गर्नुभएको बताइन्छ ।

अन्यथा, रञ्जन कोइराला प्रकरणमा अरुको भनाई सुन्दा फाइदा अरुले लिए तर ती बदनाम भएनन् । किनकि ती पर्दा पछाडिका थिए । त्यसको ठीक उल्टो आजसम्म मुद्दामा कसैलाई डामिएको छ भने उनै ठूला श्रीमानलाई बेला बेलामा उतै बालुवाटारको पल्लो घरकाले डाम्ने गरेको देखिन्छ । त्यहि फैसलाको कारण कतिपय अवस्थामा श्रीमानलाई बेञ्चमा बस्न समेत सकस हुने गरेको छ ।

पहिले कोइरालाको मुद्दामाझैँ अहिले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पनि अरुको दबाबमा सेटिङ्गको प्रयास नहोला भन्न सकिन्न । अदालतले पुनस्र्थापना गर्दै गर्दैन भन्दै प्रधानमन्त्रीदेखि जिम्मेवार मन्त्री र पदाधिकारीहरू हिँडेका कुरालाई सर्वोच्चले पुष्टि गरिदियो भने ठूला श्रीमानलाई  ‘डमी’ र ठमेलमा बेच्न राखिएको ‘पपेट’ भन्न थालिनेछ ।

हुन तः चोलेन्द्र श्रीमानले कोइरालाको मुद्दालाई चाँडै पेशीमा राखेर तुलनात्मक रूपमा राम्रा न्यायाधीशहरूको बेञ्चबाट फैसला गराइदिने हो भने हिजोको पाप पखालिने सम्भावना पनि त्यत्तिकै छ ।  मुद्दा आफ्नै अदालतमा छ । पेशीमा जहिले पनि चढाउन सकिन्छ । ठूला श्रीमानले साँच्चिकै गर्ने हो भने त्यसो पनि गर्न सकिने ठाउँ प्रशस्त रहेको जानकारहरू बताउँछन् ।

टिप्पणीहरू