व्यंग्य टिप्पणी: कसले भन्छ प्रधानमन्त्री ओलीले केही गर्नुभएन ?
हर्कबहादुर घलान
सामाजिक सञ्जालदेखि चिया पसलसम्म र शहरका गल्लीदेखि गाउँका चौतारीसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भनेबमोजिम काम गर्न नसकेको आरोप लाग्दै आएको छ । ओली आफ्नैचाँहि पार्टीका नेताहरूले घेराबन्दी गरेर काम गर्न नदिएको गुनासो छ । तर,ओलीले पछिल्लो तीन वर्षमा केही गर्नुभएन होला त ? उहाँका बिरोधीहरूले भनेझैँ त्यत्तिकै उखान टुक्का मात्र हाल्नुभयो होला ? होइन,किमार्थ त्यसो मात्रै होइन । उहाँले भ्याएसम्म धेरै गर्नुभएको छ ।
हेर्नुस् त, यसबीच काठमाडौँका सडक कति चिल्ला भएका छन् । के यो उहाँको इच्छाशक्तिले सम्भव भएको हैन ? सडकमा रहेका त्यत्रा खाल्डाखुल्डी हिजोआज कहीँ देखिएको छ ? अझ काठमाडौँका सडकमा हिलो र धुलो नदेखिएको दुई वर्ष नाघ्न लाग्यो । एकाध ठाउँमा देखिएको हिलाम्मे र धुलाम्मे अवस्था पनि पछिल्लो महिनामा छोपिइसकेको छ । उहाँ प्रधानमन्त्री भएको पहिलो वर्षमै शहरको सौन्दर्य बिगार्ने गरी पोलमा गुजुल्टिएका तार भूमिगतको काम थालिएको हैन र ?
कर प्रणालीमा सुधार गर्दै एक लाखको बाइकमा दुई लाख कर लगाएर सरकारको आम्दानी बढाउने दूरदर्शी नीति परिवर्तन पनि उहाँकै देन हो । मेलम्चीको पानी उहाँकै कार्यकालमा आउने पक्का छ । सुरुङ्ग परीक्षण गर्दा भएको मानवीय दुर्घटनाले मात्र केही पर धकेलिएको हो । भ्रष्टाचार काण्डमा मुछिएका आफ्नै पार्टीका केही नेतालाई उहाँले अख्तियार लगाएर कारबाही पनि गराउनुभएकै छ । अनि कसरी भन्ने ओलीले काम गर्दै गर्नुभएन भनेर ?
त्यतिमात्र हो र अरुले त्रिपालमुनि छोपेर राखेको रेल उहाँले सपथ खाएकै पर्सिपल्टदेखि चलाउने प्रक्रिया शुरु गरेको हो । अहिले देशभर बिजुली बस गुडाउने योजना पनि उहाँकै हो । कोरोना महामारी र त्यसलाई रोक्न लगाइएको लकडाउन तथा प्राविधिक गडबडीले गर्दा ती बस ग्यारेजमा थन्किन बाध्य भएका मात्र हुन् । अरुले बंगलादेशबाट मल पैँचो माग्ने कुरा गर्दा उहाँले हुँदैन,बरु नेपालमै उत्पादन गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
देशमै रोजगारी श्रृजना गरेर उहाँकै विशेष योजनामा युवाहरू विदेशिने क्रम रोकिने र कृषि कर्ममा फर्कने स्थिति देखिँदैछ । कुलमानले लोडसेडिङ अन्त्य गरेर जनताको मन जितेकोमा प्रसन्न भएर उहाँले उनीभन्दा राम्रो मान्छे ल्याउन खोज्नुभएकै हो ।
भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुखले भेट्न खोज्दा कूटनैतिक मर्यादाविपरित हुने भन्दै मध्यरातमा बालुवाटारको गेटबाटै फिर्ता पठाउन खोजिएकै हो । सामन्त गोयलले काठमाडौं आएको बेला हठ गरेर सम्माननीयलाई भेटेर मात्र जान्छु भनेपछि असल छिमेकी मुलुकको प्रधानमन्त्रीको नाताले मात्रै भेट्नुभएको हो । त्यत्रो अडान लिँदा पनि प्रधानमन्त्रीले केही गरेन भन्न मिल्छ ?
कृषिमा आत्मनिर्भर बन्न ओलीकै योजनामा विदेशी अन्न,फलफूल र तरकारीको आयात रोकिएको यति छिट्टै बिर्सन मिल्छ ? काठमाडौंका सडक सडकमानव मुक्त भएको वर्षौं भइसक्यो । घरघरमा ग्याँसको पाइप पुगिसकेको छ । कुनैपनि नागरिकले भोक र ऋणले आत्महत्या गरेको समाचार सुन्नु नपरेको पनि उहाँको कार्यकाल शुरु भएपछि मात्रै हो । केरुङ–काठमाडौँ रेलको काम रसुवा र नुवाकोटका डाँडामा रातारात भैरहेको नदेख्नेलाई के भन्न सकिन्छ र ?
हिन्द–महासागरमा नेपाली झण्डा फहराउँदै दौडिएका भूपरिवेष्ठित मुलुकको पानीजहाज कसको पालामा शुरु भएको हो ? आफ्नै देशको जमिनमुनीबाट निकालिएको इन्धन भरेर सवारी साधन दौडाउनेहरूले नै ओली सरकारले केही गरेन भन्नलाई लाज र शरम लाग्दैन ? यत्राविघ्न काम गर्दा पनि ओलीले केही गरेन भन्ने ? पार्टीका नेताले हातखुट्टा बाँध्दा त उहाँले यत्रो गर्नुभो, स्वतन्त्र ढंगले काम गर्न दिएको भए कति गर्नुहुन्थ्यो होला विचार गर्नुस् त !
टिप्पणीहरू