ओलीको घोषणापत्र खतिवडाले लेख्दै
पूर्वअर्थमन्त्री एवं केही दिनको निम्ति प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले संयुक्त राज्य अमेरिकाको निम्ति राजदूतमा नियुक्तिपश्चात् ओहोदाको प्रमाणपत्र पेश गर्न जाने तयारी भइरहँदा पनि आफू पार्टी र प्रधानमन्त्रीले दिएको जिम्मेवारीमा व्यस्त रहेको बताउने गरेका छन् । उनले धुम्बाराहीस्थित निवासमा भेटघाट गर्न आएकाहरूलाई प्रधानमन्त्रीले नेकपा (ओली समूह) को चुनावी घोषणापत्र बनाउने प्रमुख जिम्मेवारी दिएकाले निकै व्यस्त छु भन्ने गरेको अर्थ मन्त्रालयमा चर्चा छ ।
केही दिनपहिले एउटा सरकारी निकायका प्रमुख खतिवडालाई भेट्न सबेरै उनको निवास पुगेका थिए । सञ्चो बिसञ्चोको औपचारिकता पूरा गरेर एकाध मिनेट कुरा हुनेबित्तिकै खतिवडाले ल्यापटप हातमा लिएर भन्न थाले, ‘ल है मित्र, अलि व्यस्त छु । प्रधानमन्त्रीज्यूले पार्टीको मेनिफेस्टो बनाउने जिम्मा दिनुभएको छ । केही दिनभित्र सकाउनैपर्ने अवस्थामा छु ।’
खतिवडाको भनाइ उधृत गर्दै ती प्रमुखले भने, ‘तीन वर्षअघि पनि सबैभन्दा धेरै म आफैँ खटेर बनाएको हुँ पार्टीको घोषणापत्र । त्यसैको जगमा झण्डै दुई तिहाइ बहुमत आयो । अहिलेको चुनौतीलाई सामना गरेर भए पनि स्पष्ट बहुमत ल्याउन सघाउन पुग्ने गरी म्यानिफेस्टो बनाउनुपर्ने चर्को दबाबमा छु । फेरि उता (अमेरिका) पनि जानु छ । अरु कुरा पछि फुर्सदमा गरौंला है !’
टिप्पणीहरू