देशैभरि टावर, समृद्धिको पावर
एउटा अर्थहीन काममा अर्बौँ रकमको खोलो बगिरहेको छ । जुन पैसा ठूलो आयोजना सम्पन्न हुन्थ्यो, हजारौं दिनहीन नेपालीको जीवनस्तर फेरिनसक्थ्यो । तर आँखा चिम्लिएर अहिले संघ, प्रदेश सरकारको सिको गर्दै स्थानीय तहबीच ‘भ्यु टावर’ निर्माण गर्ने यस्तो डरलाग्दो प्रतिस्पर्धा चल्दै छ कि मानौं, समृद्धि भनेकै अग्लो डाँडामा टावर ठड्याउनु हो ।
दुई वर्षको स्थिति हेर्दा ६० भन्दा बढी स्थानमा भ्यु टावर ठडिँदै छन् । यद्यपि, कहाँ कति भ्यु टावर बन्दै छ भन्ने तथ्य राज्यको कुनै निकायसँग छैन । प्रदेश, स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट पुस्तक केलाउँदा झण्डै ५ दर्जन ठाउँमा भ्यु टावर निर्माण क्रममा रहेको विवरण देखिन्छ । रमाइलोचाहिँ के छ भने देशैभर बनेका र बन्न लागेका भ्यु टावर र प्रधानमन्त्रीको गृहजिल्लामा निर्माणाधीन एउटै भ्यु टावरको बजेटचाहिँ बराबरीजस्तै छ ।
झापाको दमक नगरपालिका–३, ढुकुरपानीमा २३ असार २०७५ देखि निर्माण भइरहेको भ्यु टावरको १८ प्रतिशत काम सकियो । संविधानसभा भवनपछि शहरी विभाग तथा भवन निर्माण विभागको यो दोस्रो ठूलो प्रोजेक्ट हो । झण्डै २ अर्ब ७३ करोड लागतमा एक सय मिटर अग्लो, १८ तल्ले भ्यु टावर ठड्याउने योजना छ । जसको अहिले फाउण्डेसनको काम (पाइल हाल्ने) सकिएको छ । १८ तलामाथि २८ मिटर अग्लो टावर ठड्याउने प्रतिबद्धतासहित चिनियाँ कम्पनी जेडसीजीआईईसी–आशिष, ओम साईराम जेभीले ठेक्का पाएको हो ।
मुलुककै अगुवाले आफ्नो गृहजिल्लामा १८ तल्ले भ्यु टावर ठड्याउने भएपछि त्यसको सिको प्रदेशदेखि स्थानीय सरकारले गर्न थाले । पहाड र तराईमा भ्यु टावर बनाउन स्थानीय तहबीच होडबाजी डरलाग्दो भयो । संघीय सरकारले तीन ठाउँमा, बाग्मती प्रदेश सरकारले १५ स्थानमा,प्रदेश १ सरकारले ८ स्थानमा, कर्णाली प्रदेश सरकारले २ ठाउँमा, सुदूरपश्चिम प्रदेशले २, गण्डकी प्रदेशले १ ठाउँमा टावर ठड्याउँदै छन् । बाँकी भ्यु टावर बनाउन स्थानीय सरकार जुटेका छन् । संघीय सरकारको बजेटअन्तर्गत झापा र पाँचथरको फिदिम नगरपालिकामा भ्यु टावर उठ्दै छ । पाँचथरको रमितेमा ३ करोड १० लाख खर्चेर टावर बन्न लागेको छ ।
मोटामोटी झण्डै चार अर्ब रकम यी टावरमा स्वाहा हुँदै छ । जसमध्ये केरावारी गाउँपालिका मोरङले ७२ लाख, म्याग्दीको मंगला गाउँपालिकाले २७ लाख, पुतलीबजार स्याङ्जाले ८५ लाख र निजगढ नगरपालिका–४ बाराले ६० लाख भ्यु टावरमा लगाइसकेका छन् । झापाको सिको गर्दै बाग्मती प्रदेश सरकारले अन्धाधुन्द १५ ठाउँमा भ्यु टावर खडा गर्र्दै छ । जसमध्ये २ करोड ९६ लाख लागतमा भुम्लु गाउँपालिका–८ काभ्रेमा भ्यु टावर बन्दै छ । यस्तै सूर्यविनायक नगरपालिका भक्तपुरलाई १ करोड, रोशी काभ्रेमै निर्माणाधीन टावरका लागि २ करोड ६० लाख छुट्याइसकिएको छ । फुल्चोकी गोदावरीमा ६० लाख खर्चेर टावर उठाइँदै छ । खाँडादेवी–५ रामेछापमा १ करोड खर्च भइसकेको छ । सिद्धबाबाको चुचुरोमा भ्यु टावर ठड्याउन भन्दै १ करोड ५० लाख विनियोजन गरिएको छ । धादिङको तोप्लाङमा २ करोड खर्च गरिँदै छ । नुवाकोटको चिम्टेश्वरमा १ करोड ८० लाख बजेट छुट्टिएको छ । हेटौंडा मकवानपुरमा बन्न लागेको भ्यु टावरका लागि २ करोड, बरण्डा सिन्धुपाल्चोकलाई ७० लाख बजेट विनियोजन भएको छ । काठमाडौंका तारकेश्वर नगरपालिकाले २० लाख, नागार्जुन नगरपालिकाले २ करोड १० लाख बजेट भ्यु टावर बनाउन छुट्ट्याएका छन् । काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा ‘एक हिल स्टेशन, एक भ्यु टावर’ निर्माण गर्न ६ करोड बजेट विनियोजन गरिएको भेटिन्छ ।
यस्तै घ्याम्पेडाँडा, भक्तपुर र शिवालय, रामेछापमा भ्यु टावर बन्दै छन् । झापाको यो रोग बाग्मती प्रदेश हुँदै शेरधन राई कमाण्डर रहेको १ नम्बर प्रदेशतिर सरेको छ । त्यहाँको सरकारले झण्डै १ करोड खर्चेर सोलु दूधकुण्ड ८ र देम्बाडाँडा पाँचथरमा भ्यु टावर ठड्याउँदैछ । यस्तै, १ करोड लागतमा चम्पादेवी ५ ओखलढुंगा, बुद्धशान्ति झापा, मिक्लाजुँग पाँचथर, माड्सेबुग इलाम, चिण्डेडाँडा धरानमा टावर बन्दैछ । यी हरेकको लागत ५० लाखभन्दा कम कतै छैन । कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाले झिलमिला क्षेत्रमा ‘भ्यु टावर’ बनाउन ७८ लाख छुट्ट्याएको छ । मोरङको विराटनगर महानगरपालिका–३ मा ११० मिटर अग्लो ‘भ्यु टावर’ बनाउने योजना बन्दै छ । कञ्चनपुरको महाकाली नगरपालिकामा ३ करोड लागतमा ‘भ्यु टावर’ बन्दै छ । वेदकोट नगरपालिकाले ६ तले भ्यु टावरका लागि ७० लाख बजेट छुट्ट्याएको छ । यस्तै, कैलालीको गोदावरी नगरपालिका–४, कम्पासेधुरामा २ करोडमा भ्यु टावर बन्दै छ । विवरण धेरै लामो छ । यसरी कम्युनिष्टको सरकार अनुत्पादक क्षेत्रमा अर्बाैं लगानी गर्न किन होडबाजी गर्दै छन् त ? अर्थविद् भन्छन्– भ्यु टावरसँग जोडिएको कमिसनको जालो ।
टिप्पणीहरू