वामदेवको फोन बहादुर भवनतिर

वामदेवको फोन बहादुर भवनतिर

दुवैतिर नखुल्नुभएका नेकपा उपाध्यक्ष वामदेव गौतमले केही सातादेखि पार्टीलाई अझै पनि मिलाउने बताउँदै आउनुभएको छ । उहाँले ‘मिलाएरै छाड्छु’ भनेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत गत साता दुईपटक फोन गर्नुभएको थियो । त्यसबखत पनि उहाँले प्रमुख आयुक्तलाई ‘म मिलाउँछु, तपाईं त्यहाँ हेर्नुहोस्’ भनेर मंगलबार र बिहीबार फोन गर्नुभएको हो ।

मंगलबारको फोन वार्तामा ‘दिनेशजी, ऐनमा भएको पाँचवर्षे प्रावधानका कारण हाम्रो पार्टी अहिले फुट्न मिल्दै मिल्दैन’ भनेपछि प्रमुख निर्वाचन आयुक्तले जवाफ दिए, ‘होइन हजुर, यो फुट्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा कानुन हेरौंला । किनभने अहिलेको दाबी दफा ३३ बमोजिम आएकै होइन । त्यसकारण म त्यतातर्फ गइनँ । तर, फुट्नै हुँदैन, मिल्नुपर्छ भन्ने एउटा जिउँदो मान्छे मैले तपाईंलाई पहिलो पटक भेटेँ । म हजुरको कुरो सुनेर औधी खुशी भएँ ।’ त्यसपछि फेरि गौतमले भन्नुभएको थियो ‘मेरो विचार कसैले सुन्दैनन् ।’ अन्तमा थपलियाले ‘अब मैले एक दिन दुवै पक्षलाई मिल्न आउनुहोस् भनेर बोलाउनै छ । त्यो बेलामा आफैँ उपस्थित भएर मिलाएर गएदेखि काइदा हुने थियो हजुर !’ भन्नुभएको थियो ।

बिहीबार फेरि फोन गरेर गौतमले थपलियालाई सम्झाउनुभयो ‘हाम्रो पार्टी कानुनअनुसार फुटेर त्यसपछि मिलेको होइन है ! त्यसैले हामीलाई पाँच वर्षे प्रावधान लाग्दैन होला । हाम्रो सन्दर्भमा त्यो मैले गल्ती दफा पो उल्लेख गरेँ कि ? अरू साथीले पनि हेर्दा त्यस्तो लाग्दैन भने ।’

गौतमको कुरो सुनपछि प्रमुख निर्वाचन आयुक्तले थप्नुभयो, ‘त्यो त तपाईंको विचार हो हजुर ! हामी दफामा छिरेकै छैनौं । यी कानुनका दफाले मिलाउने होइन । लफडाबाजी गर्नेलाई सहयोग पु¥याउने हो । सबैभन्दा ठूलो कुरो मनको दफा मिले भइहाल्यो नि हजुर । मैले तपाईंको मनको कदर गरेको हो । मिल्तीको आवाज भने कम गर्न भएन है हजुर !’

टिप्पणीहरू