गाडी नदिने हाकिमको सरुवा

गाडी नदिने हाकिमको सरुवा

नवनियुक्त मन्त्रीको पिएलाई गाडी दिन इन्कार गर्दा एक सहसचिव दण्डित भएका छन् । उनलाई एकाध घण्टामै मन्त्रालयबाट लखेटिएको छ । यसरी लखेटाइमा पर्ने सहसचिव हुन् चक्रवर्ती कण्ठ । र, उनलाई लखेट्ने मन्त्री हुन् प्रभु साह । प्रभु १० पुसमा दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहसँगै सडक आन्दोलनमा थिए । आन्दोलनकै क्रममा तारन्तार मोबाइलको घण्टी बज्यो ।

एउटै मोर्चामा रहेर आन्दोलनमा होमिएका जनार्दन शर्माले व्यंग्य हाने, बालुवाटारबाट मन्त्री बन्ने अफर हो कि क्या हो ? त्यहीँबाट मोबाइल अफ गरेर गायब भएका उनी आफ्नो समूहका नेतालाई चकित खुवाउँदै चार घण्टापछि नै शहरी विकास मन्त्रीको शपथ लिइरहेका थिए । शुक्रबार शपथ लिएर आइतबार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा हाजिर भएका उनले आफ्नो पिएलाई गाडी उपलब्ध नगराएको झोंकमा सहसचिवको सरुवा गरेका हुन् ।

मन्त्री साहका पिएले रौतहट जान शहरी विकास तथा भवन निर्माण विभागसँग गाडी माग गरे । त्यहाँका हाकिम मणिराम गेलाल हालै सचिव बढुवा भएपछि प्रमुखविहीन छ । र, पदम मैनाली डिजी हुने लाइनमा छन् । चक्रवर्तीचाहिँ विभागको योजना महाशाखाका हाकिम हुन् । उनले गाडी दिन नसकिने बताए । कारण सुनाए, ‘विभागले हालै मात्र नयाँ गाडी मन्त्री कृष्णगोपाल श्रेष्ठलाई दिइसकेको छ । त्यही गाडी नपाएको झोंकमा कण्ठलाई विभागबाट लखेटेर भाइकाजी तिवारी हाकिम रहेको उपत्यका विकास प्राधिकरणमा पुर्‍याइएको छ ।
मन्त्रालय र विभाग स्रोतले उनको सरुवा गराएको पुष्टि गरेको छ । बुधबारदेखि नै उनी उपत्यका विकास प्राधिकरणमा हाजिर भइसकेका छन् । यद्यपि, यो विषयमा कण्ठले मुख खोल्न चाहेनन् । जनआस्थाले पटक–पटक प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् । यसरी हाकिम सारेर गाडीमा जिल्लातिर लागेका नयाँ मन्त्रीले बाटो हिँड्नेलाई ठक्कर दिँदाको अर्को काण्ड छ ।

टिप्पणीहरू