उपत्यकामा आज
प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि अहिले मुलुकमा राजनीतिक र संवैधानिक संकट चुलिएको छ । प्रधानमन्त्रीको कदमका विरुद्ध विभिन्न राजनीतिक दल,संघसंस्था,नागरिक समाजलगायत आन्दोलनमा छन् ।
त्यस्तै आज पृथ्वी जयन्ती पनि हो । सो अवसरमा राप्रपा नेपाललगायत विभिन्न संघसंगठनले विभिन्न कार्यक्रम गर्दैछन्। संसद विघटनपछिको राजनीतिक अवस्था र पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौँमा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।
हेर्नुस् के के हुँदैछन् आज ?
मातृभूमिका लागि नेपाली अभियानले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा भेला भई नगर परिक्रमा गरि सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण कार्यक्रम गर्ने कार्यक्रम राखेको छ ।
त्यस्तै पूर्वजनमुक्ति सेना नेपालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय कोटेश्वरमा बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम गर्दैछ ।
सामाजिक सदभाव तथा राष्ट्रिय एकता अभियानले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्ने र मोटरसाइकल र्यालीसहित सिंहदरवार अगाडि कार्यक्रम गर्ने जनाएको छ ।
राप्रपा जिल्ला कार्यसमिति भक्तपुर पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भद्रकाली जाने बताएको छ ।
यता, विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको गैरसंबैधानिक कदमबिरुद्ध माइतिघर मण्डलामा नेपालका विभिन्न सांस्कृतिक पोसाकसहितको प्रदर्शन गर्ने भएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शान्तिवाटिकामा भेला भई सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरि माइतीघर मण्डलामा गएर कोणसभा गर्दैछ ।
नेपाल नागरिक अभियानले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा भेला भइ र्यालीसहित सिंहदरबार स्थित पृथ्वीनारायण शाहको सालिकमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम राखेको छ।
उत्तर भेगिय पृथ्वी जयन्ती र्याली समारोह समितिले पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्तीको अवसरमा मोटरसाइकल र्याली कार्यक्रम गर्ने भएको छ । बालाजु बाइपासदेखि बुढानिलकण्ठ मन्दिरसम्म मोटरसाइकल र्याली गरिने बताइएको छ ।
त्यसैगरी, वीर गोर्खाली अभियानले पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अहिले ११ बजे भृकुटीमण्डपमा नेपाली झण्डा तथा नेपाली भेषभुषामा पैदल तथा मोटरसाइकल र्याली गर्दैछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे जलपान कार्यक्रम गर्दैछ ।
राष्ट्रिय एकता परिषदले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशाल र्याली गर्ने भएको छ । अहिले खुल्लामञ्चदेखि सिंहदरबारसम्म हुने र्याली छ।
नेपाली काङ्ग्रेस (वीपी)ले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भद्रकाली मन्दिर पुगेर माल्यार्पण गर्ने कार्यक्रम राखेको छ ।
राष्ट्रवादी नागरिक समाजले पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा असनमा भेला भई सिंहदरबारस्थित पृथ्वीनारायण शाहको प्रतिमामा फुलमाला चढाउने कार्यक्रम राखेको छ ।
राष्ट्रिय शक्ति नेपालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्तीको शुभ अवसरमा कार्यक्रम गर्दैछ । कार्यक्रम दरवार मार्ग महेन्द्र सालिक अगाडि अहिले हुँदैछ ।
त्यसैगरी राप्रपा कमल थापा निकटले पार्टी कार्यालय सल्लाघारी,भक्तपुरमा साढे २ बजेसम्म २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने बताएको छ ।
विश्व हिन्दु युवा संघले गाँजा वैधानिक गर्न माग गर्दै अहिले माइतीघर मण्डलामा प्रदर्शन गर्दै छ। अहिले नै साझा युवा संगठनले विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल र गौर शमशेर जवराको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ ।
।
बृहत् नागरिक भेला संयोजन समितिले नेकपाका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक भेला कार्यक्रम गर्ने गर्ने जनाएको छ। भेला अपरान्ह १२:४५ बजे क्वालिटी बैङ्क्वेट बुद्धनगरमा हुनेछ।
अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि अखिल नेपाल जनसाँस्कृतिक महासंघले प्रतिगमनविरुद्ध साँस्कृतिक प्रतिरोध सभामा गर्ने भएको छ ।
प्रचण्ड-माधव निकट अखिल नेपाल राष्ट्रिय स्वतत्र विद्यार्थी यूनियन केन्द्रीय समितिले प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमको विरुद्ध देशभर सडक कविता/गित/गजल कार्यक्रम गर्दैछ ।
गंगामाया अधिकारीले छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखि पानीसमेत नखाई राष्ट्रिय ट्रमा सेन्टरमा सत्याग्रह शुरु गरेको सत्याग्रह आज पनि जारी छ ।
आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रीय निर्देशनअनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति असोज १२ गतेदेखि गरेको तालाबन्दी आज पनि जारी छ ।
टिप्पणीहरू