जिल्लाका तीनै जना मेयरलाई केन्द्रीय सदस्य

जिल्लाका तीनै जना मेयरलाई केन्द्रीय सदस्य

संखुवासभा जिल्लास्थित १० वटा पालिकामध्ये ५ वटा गाउँ छन् भने ५ वटा नगरपालिका । स्थानीय तहमा निर्वाचित नेकपाका अधिकांश पदाधिकारीले विभाजनमा कुन समूह रोज्ने भनेर मुख खोलेका छैनन् । उनीहरूले चुनाव चिन्हको आधिकारिकतालाई पर्खेर बसेको देखिन्छ । चिन्ह कता पर्छ भनेर पर्खेका कारण मुख नखोलेका हुन्  । भोलि आफूले छानेको समूहलाई चुनाव चिन्हको आधिकारिकता मिलेन भने पद नै धरापमा पर्ने भएकाले पर्ख र हेरको अवस्थामा बसेका हुन् ।

तर केहीले भने आफूलाई चिनाएका छन् । सदरमुकाम खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडालाई ओली समूहको केन्द्रीय समिति सदस्य बनाइएको छ । उपमेयर जागेश्वरी श्रेष्ठ भने प्रचण्ड–माधव समूहमा रहेको बताइन्छ । खाँदबारी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको गृहनगर पनि हो । उता,चैनपुर र मादी नगरपालिकाका मेयरलाई समेत बालुवाटारले केन्द्रीय सदस्य बनाइदिएको छ । हालै अख्तियारमा प्रमुख आयुक्त नियुक्त पूर्व गृहसचिव प्रेम राईको गृह जिल्ला पनि संखुवासभा नै हो ।

केन्द्रीय सदस्य पद फालाफाल भएपछि संखुवासभाका पाँच वटा नगरपालिकामध्ये तीन वटाका मेयरलाई केन्द्रीय सदस्य बनाइएको हो । सम्भवतः पार्टी विभाजन नभएको भए हतपत् यो अवसर मिल्दैनथ्यो । अहिले संखुवासभाका सर्वसाधारणलाई काठमाडौं आउजाउ गर्ने जो कोहिलाई केन्द्रीय सदस्य प्राप्त भएको भान परेको बताइन्छ ।

टिप्पणीहरू