आज दाँत माझ्ने पालो

आज दाँत माझ्ने पालो

अहिले मुलुकमा राजनीतिक र संवैधानिक संकट छ । प्रधानमन्त्रीको कदमका विरुद्ध विभिन्न राजनीतिक दल,संघसंस्था,नागरिक समाजलगायत आन्दोलनमा छन् । आज पनि आन्दोलनका कार्यक्रम जारी रहेको उनीहरुले बताएका छन्।

उपत्यकामा आज हुने कार्यक्रमहरू

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम र अधिनायकवादका विरुद्ध विवेकशील पार्टीले माइतीघर मण्डलामा दाँत माझेर प्रदर्शन गर्दैछ ।

प्रचण्ड-माधवनिकट नेपाल दलित मुक्ति संगठन वाग्मती प्रदेशले प्रतिनिधिसभा विघटनको विरुद्ध राजनीतिक,बैचारिक प्रशिक्षण कार्यक्रम ११ बजे पार्टी कार्यालाय पेरिसडाँडा कोटेश्वरमा सन्चालन गरिरहेको छ ।

अहिले १२ बजे द यालाखिम रेष्टुरेन्ट तिखेदेवल, ललितपुरमा ओलीनिकट अखिल नेपाल खेलकुद महासंघले गृहमन्त्री रामबहादुर थापा (बादल)को प्रमुख आतिथ्यतामा राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम गर्दैछ ।

प्रचण्ड-माधव निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्दैछ । कार्यक्रम शेषनारायण बृद्धाश्रम दक्षिणकालीमा दिउँसो १ बजेका लागि तय गरिएको छ।

माक्रर्सवादी सांस्कृतिक मोर्चा नेपालले राजनीतिक प्रतिगमनविरुद्ध अग्रमनको पक्षमा दिउँसो साढे १ बजे मण्डलामा प्रतिरोध कार्यक्रम गर्ने जनाएको छ ।

दिउँसो २ बजे प्रज्ञाप्रतिष्ठान कमलादीमा बृहत् नागरिक आन्दोलन अभियानले प्रतिगमनविरुद्ध नागरिक सभा कार्यक्रम गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस युवा प्रचार नेटवर्कले संसद विघटनको असंबैधानिक कदमविरुद्ध नेपालको संविधान पढ्ने कार्यक्रम राखेको छ । कार्यक्रम अपरान्ह ४ बजे माइतीघर मण्डलामा हुने छ।

प्रचण्ड-माधव निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वघोषित कार्यक्रमअनुसार आज देशभर प्रतिनिधिसभा विघटनको विरुद्ध घर-घरमा पर्चा वितरण, टोल-टोलमा कालो झण्डा गाड्ने र असंबैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडाहरूमा ब्यानर राख्ने जनाएको छ ।

प्रचण्ड-माधव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय समितिले प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमको विरुद्ध देशव्यापी रुपमा सडक नाटक/सडक आर्ट कार्यक्रम गर्ने जानकारी दिएको छ ।

गङ्गामायाको अनसन जारी छ

छोराको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले शुरु गरेको अनशन आज २२औँ दिन पनि जारी छ।
गंगामाया पुस ६ गतेदेखि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरस्थित सातौँ तलाको बेड नम्बर ७०८ मा अनशनमा छिन्।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै पटक-पटक अनशन बसेकी उनी यसपटक पानीसमेत नखाई सत्याग्रहमा बसेकी हुन् ।

कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो ।

गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा मृत्यु भएको थियो । ०७१ असोज ६ गते पतिको निधन भएपछि गङ्गामाया एक्लै अनशन बस्दै आएकी छन्।

आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशनअनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति असोज १२ गतेदेखि गरेको तालाबन्दी आज पनि जारी राखेको छ ।

टिप्पणीहरू