सेना झन्झन् सतर्क
प्रतिनिधिसभा विघटन र वैशाखमा निर्वाचनको मिति घोषणासँगै सेनाको युद्ध कार्य महानिर्देशनालय (डिजिएमओ) ले हरेक दिनजसो विभिन्न गतिविधि गरेको छ ।
सेनाका अन्य विभाग तथा युनिटले आफू मातहतका पल्टन र जनशक्तिलाई त्यही किसिमले सजग गराइरहेको छ । बालुवाटारको निर्देशन र सेनाको आफ्नै निश्कर्षमा पनि अदालतले संसद् विघटनलाई सदर गरेमा चुनावको सुरसार गर्नुपर्ने हुन्छ भन्ने मान्यतामा उक्त तयारी गरिएको स्रोतको दाबी छ ।
विशेषगरी सेनाले समग्र सुरक्षा (ओभरअल सेक्युरिटी), मतदानस्थल (बुथ सेक्युरिटी), मतपत्रको सुरक्षामा विशेष ध्यान दिने गर्छ । चुनावमा अवलम्बन गरिने तीन तहको सुरक्षामध्ये एउटामा सेना रहन्छ । फ्रन्टमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र पछिल्लो घेरामा सेना रहने सुरक्षा प्रणाली अपनाउने गरिएको छ ।
यसबीच, सेनापति थापाको मेचीदेखि महाकालीसम्म निरन्तर भ्रमण भइरहेको छ । अधिकांश सेनापतिले आफ्नो कार्यकालको अन्तिम समयमा पृतनाअन्तर्गतका सबैजसो गण र गुल्म निरीक्षण गर्ने चलन छ ।
विश्वव्यापी महामारी कोभिड–१९ को अवस्थालाई सेनाले नियन्त्रण नभइसकेको र सर्वसाधारणले डर पनि मान्न छाडेको रूपमा लिएको छ । तर, दिनहुँ ६ देखि १० जनासम्मको निधन कोरोनाकै कारण भइरहेकाले पनि त्यसलाई चटक्क बिर्सन नहुने उसको निश्कर्ष छ । सेनाका चिकित्सक मेजर विवेक खत्रीको हालै भएको निधनमा पनि कोरोनाको आशंका गरिएको छ । पहिला बैरेनी ब्यारेकमा बस्दा राम्रो काम देखाएका ४१ वर्षीय खत्री छाउनीस्थित सैनिक अस्पतालमा नाक, कान, घाँटी विशेषज्ञ थिए ।
टिप्पणीहरू