गालीशास्त्रमा विद्यावारिधिको मौका
– श्याम रिमाल
गाली नै गर्ने भए चराले जस्तो गर नः मञ्जुल
अमेरिकाका राष्ट्रपति डोनाल्ड जोन ट्रम्प आफ्ना प्रतिद्वन्द्वी, विरोधी खेमाका तथा विभिन्न व्यक्तिलाई विभिन्न उपनामले बोलाउन मन पराउँछन् । तल्लोस्तरमा गाली गर्ने उनको व्यक्तित्वलाई मिडियाले सधैँ उजागर गरिरहेको छ । विभिन्न प्रसङ्गमा उनले अघिल्ला आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई ‘नाष्टी वुमन’ (घृणास्पद महिला)सम्म भने । कति महिलालाई ‘मोटी’ र ‘नराम्री’सम्म भने त अन्य कसैलाई ‘क्रुक्ड’(कपटी), कसैलाई ‘भेरी डम्ब’(धेरै लाटो), ‘लायर’(फटाहा) भने । उनले देशलाई नै गाली गरेर ‘टेरिबल चाइना’ र ‘टोटल्ली करप्ट मेक्सिको’ सम्म पनि भने । आफूविरुद्धका समाचारलाई त सधैँ ‘फेक न्युज’ कै संज्ञा दिए । जातीय र नश्लवादी तथा महिला विरोधी ट्रम्पको पराजयमा उनले आफूले प्रयोग गरेका गालीयुक्त शब्द पनि कारक बन्यो जसले केही समुदायलाई हेर्ने उनको दृष्टिकोणलाई छर्लङ्ग्याउँथ्यो ।
श्रीस्वस्थानी पुस्तकमा सत्ययुगमा महादेवलाई दक्ष प्रजापतिले गाली गरेको पढेकै होः गाँजाभाङ खाने, खरानी धस्ने, श्मसानमा बस्ने, बाघको छाला ओढ्ने, बाबुआमा र जन्मको ठेगान नभएको, न गोत्र न कुल । सोही पुस्तकमा विष्णुलाई वृन्दाले गरेको गाली पनि ख्याल भएकै होः ढुङ्गो हुुनुपरोस्, झार हुुनुपरोस्् । त्रेतायुगमा रामकै नाम लिएर धोबीले श्रीमतीलाई पिटेको थियो, लुकेर मारिएका बालिकी श्रीमती ताराले उनलाई झन् कति सरापिन् होलिन् ? दशरथले कैकेयीलाई कति गाली गरे होलान् ? रावणलाई सीताले कति दुर्वचन बोलिन् होलिन् ? द्वापरयुगमा कृष्णलाई बालककालमा उपद्रो गरेदेखि महाभारत युद्ध मच्चाउँदासम्म छिमेकी र गान्धारीलगायतले कति सरापे होलान् ? धर्मको ख्याल राख्ने नेपालीले सत्य, त्रेता र द्वापरयुगबाट एकार्कामा गाली गर्न त सिके, सिके, अनि यो कलिकालमा कति गाली बके होलान् ? बरु बुद्धशासनमा शाक्यमुनि गौतम आफूलाई दुनियाँका छोराछोरी बरालेको आरोप जति पनि सुनिरहन्थे । गाली गर्ने आफैँ थाकेर बाटो लाग्थ्यो । कसैको गालीरूपी उपहार आफूले नलिए त दाता आफूले नै फिर्ता लिइहाल्छ नि भन्ने सिद्धार्थको मान्यता थियो । महात्मा गान्धी पनि कसैले आफूलाई एक गालामा कसैले थप्पड हानेमा अर्काे गाला थापिदिन्थे । थप्पड हान्ने आफैँ जिल्ल पथ्र्याे । दुष्टलाई शिष्य बनाउने बुद्ध र गान्धीका तरिका कति मीठो, कति सरल ! अनि सुकरात(सोक्रेटस) त चोथाले श्रीमती जान्थिप्पीको गाली सुन्दासुन्दा सत्यको पथ हिँड्ने दार्शनिक नै भइदिए ।
आफ्ना बाबुले आफ्नी आमा र आमाले बाबु, छिमेकी, साहु, साथी, इष्टमित्र, आफन्त र स्वयं आफूलाई गाली गरेको सुनेका छोराछोरीले बाबुआमाबाट नसिकेर के गरून् ? गालीका पनि तहतह हुन्छन्ः कुनै सुन्नै नसकिने, कुनै केही हदसम्म श्लील, धेरैजसो त जनावरकै नाम लिएर । विचरा पशुको के दोष ? विडम्बना कस्तो भने, सुन्नै नसकिने कुरा मुखबाट निकालेर पनि मान्छे गौरवले समाजमा टाउको उठाएर हिँडिरहेका भेटिन्छन् । कोही त गाली शिरोमणि नै हुन्छन् । हाम्रै एक लेखक गाली शिरोमणि छन्, लाग्छ, तिनको दिमागमा जन्मेदेखि सकारात्मकता भन्ने नै छैन ।
आमाको गाली खाएर मुग्लान भागी वेदमा विद्यावारिधि गर्ने काले राई जन्माउने भूमि यही हो । यो काका पितृप्रसादको गालीले कास्की अर्चलेको एक गोठालो केटो कविशिरोमणि भइदिने देश पनि हो ।
यहाँका राजनीतिकर्मी, राजनेता र राजनीतिज्ञको गाली चाहिँ गुच्चा, खोपी, तास, डण्डीबियो, कपर्दी, फुटबल खेल्दा झगडा गर्ने केटाहरू (यस्तो खेल केटाहरू नै बढी खेल्छन्)ले आपसमा गाली गरेसरहको सुन्नुपरेकामा भने ग्लानि नै हुन्छ । नेपाली प्रजातन्त्रवादीहरूलाई सुरा नै मान्नुपर्छ जसले राजा महेन्द्रलाई बम प्रहार गरे अनि जसले राजतन्त्रकालमै ..चोर, देश छोड् सम्म भन्न सके, अमुक पम्पादेवीलाई उदाङ्गै बनाए । अनि कम्युनिष्ट नि, तिनले देशहरूलाई लक्ष्य गरी अमेरिकालाई साम्राज्यवादी, रुसलाई सामाजिक साम्राज्यवादी (रुस समर्थक कम्युनिष्टबाहेकले)भारतलाई विस्तारवादी, चीनलाई संशोधनवादी त भने भने, न्वारानदेखिका बलले आफ्नै सहकर्मीलाई नानाभाँती गाली गरेः गद्दार, अवसरवादी, सिआइडी, कांग्रेसको पुच्छर, कांग्रेस–पञ्चायत परस्त, भारतीय, चिनियाँ, रुसी, अमेरिकी दलाल, जडसूत्रवादी, कठमुल्लावादी, बुर्जुवापन्थी, सुधारवादी केके हो केके । कांग्रेस र पञ्चहरूमा आपसमा त्यति अपाच्य गालीगलोज सुनिएन छ्याल्लब्याल्लै हुने गरी । बहुदल आएपछि चुनावमा पत्नी र पुत्र पराजय भएकाले गणेशमान सिंहले काठमाडौँका जनतालाई भेंडासम्म भन्न भ्याएका थिए । कम्युनिष्ट कार्यकर्ताले गिरिजाप्रसाद कोइरालाको नाम काढी अमुक रोग र देशसँग जोडेर सरापे । एक पटक कोइरालाले आफ्नो शारीरिक आकृतिप्रति लक्ष्यित गाली भनी रोष पनि प्रकट गरेका थिए । कार्यकर्ताहरू गीत वा कविता जस्तो लय बनाई नेतानेत्री वा अमुक संस्थालाई गाली गर्न किन पनि माहिर छन् भने ती नेपाली गीत वा कविता निकै सुन्ने र पढ्ने गर्छन्, साहित्य, कला, गीतसङ्गीतप्रेमी पनि हुन् । तिनको योग्यता पनि त्यतिसम्म मात्र हो र हाहाहुहुमै आफूलाई सानोसानो नेता वा नेत्री नै भएको आत्मरति लिन्छन् र शीर्षस्थ नेताका प्रियपात्र बन्ने कोशिश गर्छन् । अब त शीर्ष नेताहरू नै आफ्नै सहकर्मीलाई जनावरसँग दाँजेर ताली पाउन लालायित छन् त के गर्नू ? आफूले कस्तो राजनीतिक संस्कार अपनाइरहेको छु र कार्यकर्तालाई कस्तो संस्कार सिकाइरहेको छु भन्नेसम्मको भेउ पाउने वा आत्मचिन्तन गर्ने समय नै तिनलाई खै र ? साँच्चि, कसैले राजनीतिकशास्त्र वा संस्कृति विषयमा शोधपत्र लेख्ने वा विद्यावारिधि गर्ने हो भने हाम्रो राजनीतिक गाली शब्दावलीमाथि नै गर्न सक्छ । भविष्यमा कसै न कसैले त गर्ला कि ? हरे, त्यो दिन देख्नु नपरोस् । यहाँ फुट्न मात्र हैन, जुट्न सक्ने महान् आत्माहरू पनि छन् । नुन धेरै खाएको रीसमा आमाको गाली खाएर मुग्लान भागी वेदमा विद्यावारिधि गर्ने काले राई जन्माउने भूमि यही हो । यो काका पितृप्रसादको गालीले कास्की अर्चलेको एक गोठालो केटो कविशिरोमणि भइदिने देश पनि हो । यहाँ कहिलेकाहीँ गाली नै अर्काका लागि पुरस्कार बनिदिन्छ र गाली बक्नेचाहिँ प्रेरक पात्र होइदिन्छ । प्रियजनहरू, कसैको कुनै पनि गाली कहिल्यै खेर जाँदैन । गालीलाई ताली नै ठोकौँ, कि कसो ?\
झुटो बोल्दैन सारङ्गी, गाली गर्दैन बाँसुरी
छ सङ्गीत तिमीभित्र, मीठो बोल सधैँभरि
(माधवप्रसाद घिमिरे)
२०७७ पुस २० [email protected]
टिप्पणीहरू