भारतमा नक्कली पाइलटको भरमार

भारतमा नक्कली पाइलटको भरमार

सुरक्षाको कारण देखाउँदै युरोपेली युनियन (इयु) ले नेपाली विमान कम्पनीका उडानमा लगाएको प्रतिबन्ध कायम छ । दक्षिण एशियाली मुलुकहरुमध्ये पाकिस्तानको सरकारी वायुसेवा पाकिस्तान इन्टरनेशनल एअरलाइन्स (पीआईए) को उडानमा पनि इयुले त्यहि कारण देखाउँदै प्रतिबन्ध लगाइराखेको छ । तर, भारतमा झण्डै एक दशकदेखि नक्कली पाइलटको बिगबिगी रहेको समाचार सार्वजनिक भइरहँदासमेत इयुले आँखा चिम्लिनुलाई अन्तर्राष्ट्रिय उडान क्षेत्रमा अचम्म मान्न थालिएको प्राप्त समाचारमा जनाइएको छ ।

पाकिस्तानको इन्टरनेशनल द न्युजले हालै प्रकाशित गरेको समाचारमा जनाइएअनुसार सन् २०११ मा पीआईएका एकजना पाइलटको नक्कली प्रमाणपत्र फेला परेपछि इयुले उडान प्रतिबन्ध लगाएको थियो । तर,भारतमा त्यसपछि झण्डै चार हजार जना पाइलट नक्कली प्रमाणपत्रधारी रहेको आशंका गरिरहँदासमेत उसका विमान कम्पनीहरुले युरोपका अधिकांश मुलुकमा निर्वाध उडान गरिरहेका छन् ।

भारतीय रक्षा मन्त्रालयले सन् २०१९ को जुलाईमा दिएको जानकारीअनुसार सन् २०१० पछि कम्तिमा २० जना पाइलटले नक्कली प्रमाणपत्र पेश गरेर उडान अनुमति प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए । तीमध्ये १५ जनाको शैक्षिक प्रमाणपत्रसमेत नक्कली पाइएको त्यहाँको नागरिक उड्ययन महानिर्देशनालयले बताएको थियो ।

सन् २०११ को मार्चमा बीबीसी न्यूजले भनेको थियो ‘कम्तिमा २१ जना भारतीय पाइलटको इजाजतपत्र नक्कली रहेको प्रमाणित भएपछि सम्बन्धित निकायले जफत गरी उनीहरुमाथि प्रतिबन्ध लगाएको छ ।’ त्यति नै बेला भारतीय टेलिभिजन एनडिटिभीले समेत ‘इण्डिगो एयरलाइन्सका पाइलट परमिन्दर कौर गुलाटीको नक्कली प्रमाणपत्र फेला परेपछि भारतमा नक्कली पाइलटको बिगबिगीले डरलाग्दो अवस्था पैदा गरेको’ समाचार प्रशारण गरेको थियो ।

त्यसपछि भारतमा नक्कली पाइलटको बिगबिगी झन् विकराल हुँदै गएको बताइन्छ । प्राविधिक हिसाबले तुलनात्मक रूपमा सुरक्षित मानिने हवाई उडानमा नक्कली पाइलटले हवाईजहाज उडाउँदा हुनसक्ने सम्भावित मानवीय जोखिमको कल्पना पनि गर्न सकिँदैन । ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेझैँ नक्कली विमान चालकहरूको कारण भारतमा हवाई यात्रा गर्न डरमर्दो अवस्था देखिएको भारतीय सञ्चार माध्यमहरूले नै बेलाबखत जनाउने गरेका छन् ।

झण्डै एक दशकअघि परमिन्दर कौर गुलाटीलाई पाइलट इजाजतपत्र लिने प्रयोजनको लागि नक्कली मार्कसिट पेश गरेको आरोपमा पक्राउ गरिएको केही दिनपछि त्यहि आधारमा प्रहरीले अर्का एकजना पाइलटलाई समातेको थियो । सोही क्रममा राष्ट्रिय ध्वजावाहक एयर इण्डियाका क्याप्टेन जेके बर्मा समेत पक्राउ परेका थिए । त्यतिबेला भारतीय प्रहरीले भनेको थियो ‘हामीले बर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं । भारतको नागरिक उड्डयन महानिर्देशनालयले उपलब्ध गराएको पाइलटहरूको नामावलीमध्ये थप दुई जनामाथि अनुसन्धान भइरहेको छ । हाल अनुुसन्धान र छानबिन भइरहेका पाइलटहरूमा इण्डिगोका मीनाक्षी सहगल र एमडीएलआरका स्वरन सिंह तलबार मुख्य हुन् ।’

विमान अवतरण गर्ने क्रममा मापदण्ड उल्लंघन गरेपछि परमिन्दर कौर गुलाटीमाथि थालिएको आवश्यक छानबिन र अनुसन्धानले उक्त रहस्य बाहिर आएको हो । त्यसपछि चार हजार पाइलटलाई शंकाको घेरामा राखेर उनीहरूको इजाजतपत्रको छानबिन गरिएको बताइए पनि सो को निश्कर्ष हालसम्म निकालिएको छैन ।

भारतमा पाइलटले उडान इजाजतपत्र प्राप्त गर्न तीन वटा विषयमा उत्तिर्ण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था छ । तर,गुलाटीले तीन वटामध्ये दुईवटा नक्कली मार्कसिट पेश गरेको देखिएपछि भारतमा नक्कली पाइलटको रहस्यको पर्दा खुलेको हो । यता, अरु देशलाई सुरक्षा मापदण्डको डण्डा देखाउँदै आएको इयुले भारतलाई भने रातो कार्पेट बिच्छ्याउनुको अर्थ नबुझिएको हवाई उडान विज्ञहरुले बताएका छन्  ।

टिप्पणीहरू