सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

साताको पहिलो दिन सेयर बजारको सूचक नेप्से अस्वाभाविक अंकले घटेको छ । झण्डै डेढ महिनापछि आज नेप्से परिसूचक ५४.७५ ले घटेर २३७०.५४ मा झरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् गर्नुभएको संसद विघटनको दिन पुस ५ गतेपछि सेयर बजार ह्वात्तै घटेको यो पहिलो चोटी हो । पुसको पहिलो साताबाट बढ्दै गएको नेप्से सूचक गत बुधबार हालसम्मकै उच्च अंक २४४१.८५ पुगेको थियो ।

कारोबारको हिसाबले आज पनि झण्डै नौ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । गत बिहीबार हालसम्मकै सर्वाधिक उच्च ९ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ८ अर्ब ९७ करोडभन्दा बढीको कारोबार भएको छ । राजनीतिक अस्थिरताको बीचमा बढेको सेयर बजारमा कुनै कारण नभएझैँ आज घट्नुमा पनि कुनै कारण वा तत्वको भूमिका नरहेको बताइन्छ । आज नेप्सेमा देखिएको गिरावटलाई सुख्खा मौसममा गएको पहिरोसँग तुलना गरिएको छ ।

विश्लेषकहरूका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको प्रतिसेयर आम्दानीमा कमी आएको कारण नेप्से सूचक घटेको हो तर, ह्वात्तै घट्नुपर्ने कुनै कारण देखिँदैन । त्यसैगरी लगानीकर्ताले नाफा बुक गरेको कारण पछिल्लो डेढ महिनामा सेयरबजारमा उछाल देखिएको थियो । यो साता नेपाल धितोपत्र बोर्डले टी प्लस टु कार्यान्वयन सम्बन्धमा दिएको चेतावनीले पनि बजारलाई तरंगित बनाएको बताइन्छ ।

घट्दो क्रममा रहेको बजारमासमेत प्रभु लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य करिब १० प्रतिशतले बढेको छ । अरु दुईवटा इन्स्योरेन्स कम्पनीको पनि त्यहि हिसाबले सेयर मूल्य बढेको छ । आज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १७ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको देखिन्छ ।

टिप्पणीहरू