आन्दोलनकारीमाथि आक्रमण गर्ने प्रहरी नोटिसमा
प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोध कार्यक्रमबाट फर्किएका अनेरास्ववियूका नेता प्रशुन कार्कीलाई कुटपिट गर्ने प्रहरीलाई नेकपाको केन्द्रीय संघर्ष समितिले नोटिसमा राखेको चेतावनी दिएको छ।
घटनालगत्तै प्रेस नोट जारी गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले आन्दोलनकरीमाथि कार्वाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीलाई नोटिसमा राखिएको बताउनुभएको हो ।
भट्टराईले शान्तिपूर्ण बिरोध कार्यक्रम सकेर फर्कनेक्रममा कार्कीलाई गिरफ्तार गरी भ्यानमा राखेर निर्मम कुटपिट गरेको भन्दै घटनाको निन्दा गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध अनेरास्ववियूको आयोजनामा काठमाडौँको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्ष समिति घोर निन्दा गर्दछ ।’
प्रहरीको कुटाईबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । हिजै नुवाकोटमा ओली समूहका कार्यकर्ता र नेकपा (बहुमत)का कार्यकर्तावीच झडप भएको थियो ।
टिप्पणीहरू