प्रधानमन्त्री पक्षको रुट तोकियो
नेकपा ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौँमा हुने आमसभा र र्यालीका लागि रुट निर्धारण गरेको छ । र्यालीलाई व्यवस्थित बनाउन भन्दै सो समूहले उपत्यकाका विभिन्न १६ स्थानलाई प्रमुख रुट क्षेत्र तोकेको हो ।
सो समूहका प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै र्यालीको रुट र जिम्मेवारी क्षेत्र तोकेका हुन् । बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतिघर, पुतलीसडक, लैनचौर, सोर्हखुट्टे, टेकु, बसन्तपुर, सोर्हखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वरलाई र्यालीको रुट क्षेत्र तोकिएको छ ।
त्यसैगरी, तोकिएका क्षेत्रमा सहभागी हुने कमिटी र संगठनहरु पनि निर्धारण गरिएको छ । बागबजारमा सम्पर्क मंच,महेन्द्र शालिक पूर्व जनजाति महासंघका घटक संगठनहरु र घण्टाघरमा मुस्लिम समुदायका सहभागीहरुलाई तोकिएको छ ।
गौशालामा भक्तपुर, सोह्रखुट्टे नयाँ रोडमा मकवानपुर र भीमफेदी भएर आउने सबै, लैनचौरमा रसुवा र नुवाकोट, त्रिपुरेश्वरमा चितवन, धादिङ लगायतका जिल्लाबाट आउनेहरु, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र एनएसी अगाडि ललितपुरका सहभागीलाई उपस्थित हुन भनिएको छ । त्यस्तै, प्रदर्शनीमार्गमा युवा विद्यार्थी, खेलकुद महासंघ, प्रेस संगठनलगायत पेशागत महासंघ र पुतलीसडकमा जनवर्गीय संगठनहरुलाई तोकिएको छ ।
यता, काठमाडौँ निर्वाचन क्षेत्र ९ र १० का सहभागीलाई टेकु, क्षेत्र नं ८ का सहभागीलाई बसन्तपुर, क्षेत्र नं र ६ र ७ का सहभागीलाई सोर्हखुट्टे, क्षेत्र नं ३, ४ र ५ का लागि ज्ञानेश्वर र क्षेत्र नं १ र २ का पुरानो वानेश्वरमा सहभागी हुन भनिएको छ।
टिप्पणीहरू