बहादुर भवनमा माधव र प्रचण्ड
पार्टीको आधिकारिकता र चुनाव चिन्ह दावी गर्दै नेकपा (बहुमत)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । केन्द्रीय कमिटीका बहुमत सदस्य आफूतिर रहेकाले आधिकारिकता पाउनुपर्ने उक्त खेमाको माग छ ।
हिजो बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आधिकारिकता दावी गर्न निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा मूलत: विभाजित भैसकेको छ । पुस ६ गते बसेको बहुमत (प्रचण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गरेको थियो । ओली पक्षले पनि प्रचण्डको कार्यकारी अधिकार खोस्नुका साथै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो ।
दुवै पक्षले दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम आ-आफूले गरेको निर्णय अद्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए । तर,आयोगले भने दुवै पक्षको निर्णय नेकपाको विधानविपरित भएको भन्दै अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।
टिप्पणीहरू