प्रधानमन्त्रीको फ्याट्ट निर्णयले क-कसलाई अप्ठेरो ?

प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्कोगरी आएको फ्याट्फ्याटी र एकल निर्णयले बालुवाटारको किचेन क्याबिनेटका सदस्यहरूमध्ये सबैभन्दा धेरै सुवास नेम्वाङलाई अप्ठेरो पारेको छ । यसै त थोरै बोल्ने मिजासका नेम्वाङले पटक पटकको फ्याट्फ्याटी निर्णयपछि केही ठूला कमरेडहरूसँग भन्नुभएको थियो ‘न पार्टीमा सल्लाह छ,न त जानकारी । बबरमहलको कार्की ब्याँक्वेटबाट २३ गते आमसभा गर्ने भनिदिनुभयो अनि बालुवाटार आइपुगेपछि ठाउँचाँहि नारायणहिटीको पटांगिनी भनेर सुनाउनुभयो ।’

हुन पनि प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नु अघिसमेत भित्रिया भनिएका कसैलाई न जानकारी,न सल्लाह गर्नुभएको थियो । त्यसैगरी २३ गतेको आमसभा र पशुपतिमा झण्डै १ अर्ब रूपैयाँको सुनको जलारी राख्ने निर्णय पनि ठाउँको ठाउँ गरिदिँदा पार्टीको रणनीति र कार्यक्रम बनाउन आफूहरूलाई हम्मे हम्मे परेको ओली समूहका कमरेडहरूले बताउन थालेका छन् ।

नेम्वाङ नेकपाका निवर्तमान संसदीय दल उपनेता हुनुहुन्छ तर पनि उहाँसँग समेत दलका नेता तथा प्रधानमन्त्रीले कुनै कुरो र सल्लाह नगरेको बताइन्छ । विशेषगरी पुस ५ गतेपछि प्रधानमन्त्री ओलीले गर्ने निर्णयबारे अरु त अरु उपनेता र महासचिव विष्णु पौडेल दुवै बेखबर हुने गरेका हुन् । पार्टीभित्र कसैले पनि उहाँको विरुद्ध मुखामुख गरेर कुरा गर्न नसक्ने अवस्था बन्दै गएपछि मनमा जे लाग्यो त्यहि गरिदिने र बोलिदिने क्रम बढेको बताइन्छ । २३ गतेको आमसभाको निर्णय र ठाउँ छनौट पनि त्यसैको निरन्तरता हो ।

कार्की ब्याङ्क्वेटमा भएको सरकार निकट नेकपाका बुद्धिजीवीहरूको भेलामा बोलिरहँदा प्रधानमन्त्रीलाई मनमा के लाग्यो कुन्नी फ्याट्ट काउन्टर हुनेगरी २३ गते आमसभा गर्ने भनेर उल्लेख गरिदिनुभयो । त्यो दिन बालुवाटारबाट बबरमहलसम्म आइपुग्न उहाँलाई नेकपा प्रचण्ड–माधव समूहले भृकुटी मण्डपमा आयोजना गरेको बृहत् आमसभा र विरोध प्रदर्शनले राम्रैसँग बाधा पुर्याएको थियो । त्यहि भएर होला फ्याट्टै भनिदिनुभयो ‘आमसभा कत्रो हुन्छ र कस्तो हुन्छ भनेर २३ गते देखाइदिने छौं ।’

साँझ त्यहाँबाट बालुवाटार पुगञ्जेलमा सम्भवतः प्रधानमन्त्रीको मनमा कुरा खेल्यो- आमसभाको लागि ‘भर्जिन’ ठाउँ किन नरोज्ने ? हिन्दूपरस्त कार्यक्रमउन्मुख प्रधानमन्त्रीको मनमा फुर्यो ‘नारायणहिटीको दक्षिणी पटांगिनी’ । त्यसो गर्दा तीनधारा पाठशाला नजिकै महेन्द्रको शालिकतिर फर्केर भाषण गर्न पाइने,तिनै महेन्द्रका पिता पुर्खा र छोरा नाति बसेको नारायणहिटी दरबारलाई पिठ्युँ फर्काएर मञ्चमा बस्न पनि पाइने भएपछि उहाँले आफ्नो परिकल्पनालाई आगामी शुक्रबार मूर्तरूप दिनुहुने भएको हो ।

टिप्पणीहरू