चक्रब्युहमा फस्यो निर्वाचन आयोग: अर्थमन्त्रीलाई पैसाको निम्ति बोलाइयो
अर्थमन्त्री विष्णु पौडेललाई निर्वाचन आयोगले आवश्यक छलफलको निम्ति बोलाएको छ । पौडेल अपरान्ह ४ बजे आयोग पुग्दै हुनुहुन्छ । आयोगको उच्च स्रोतले भने निर्वाचनको लागि आवश्यक बजेट सम्बन्धमा छलफल गर्न बोलाइएको बताएको छ । व्यस्त हुनुभएकाले मन्त्रीले ४ बजे आयोग आइपुग्ने खबर पठाउनुभएको स्रोतको दाबी छ ।
आजको छलफलमा बजेटबारे मोटामाटी सैद्धान्तिक छलफल र सहमति हुने कार्यक्रम राखिएको बुझिएको छ । विशेषगरी आयोगको कार्यविधिमा अर्थ मन्त्रालयको सहमतिमा बजेट तय गर्ने भनिएकाले आज त्यसैउपर सैद्धान्तिक छलफल हुन लागेको हो । स्रोत भन्छ ‘अंकमा नभएर सैद्धान्तिक सहमति मात्र हुनेछ ।’
आगामी निर्वाचनको लागि आयोगले मोटामोटी ७ अर्ब ५० करोड रूपैयाँको प्रारम्भिक बजेट निकालेको बताइन्छ । त्यसमा कोरोना विरुद्धको स्वास्थ्य सावधानीको निम्ति हुने खर्चसमेत जोडिएको छ । त्यति गर्दा पनि अघिल्लो चुनावकोभन्दा कम बजेट देखिएको हो ।
आजै नेकपाको आधिकारिकता आफू्नो समूहलाई दिन माग गर्दै नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू केही बेरअघि आयोग पुग्नुभएको छ । उहाँहरूले ३० दिनको हद म्यादको बारेमा विशेष चासो राख्दै १९ पृष्ठको डकुमेण्ट बुझाउनुभएको छ । आयोगका पदाधिकारीहरूले भने उहाँहरूको कुरो सुनेपछि केही दिनपछि पूर्णता पाउने आयोगको टिमले गर्ने निर्णयबमोजिम नै अघि बढ्ने मनस्थिति बनाएको छ । स्रोतले भनेको छ ‘कानुन पढेको मान्छे वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीसमेत आयुक्तमा नियुक्त भएर आउन लागेकाले त्यसपछि ठोस् निर्णय गरिन्छ ।’
यसको सोझो अर्थ हो,सरकार बलमिच्याई गरेर,सँसदीय सुनुवाइबेगरै पर्सिभित्र ३८ जनाको संबैधानिक अङ्गमा नियुक्तिसम्बन्धी नियुक्ति निर्णय कार्यान्वयन गर्दैछ र उस्तै परे निर्वाचन आयोगमा पाँच जनाको बहुमतबाट निर्वाचन चिन्ह र नेकपाको नाम दुबै पक्षलाई नदिने निर्णय हुनसक्छ ।
टिप्पणीहरू