प्रधानमन्त्रीको नियुक्ति बेवारिस, बैठक अस्वीकार : एक तीर, दुई शिकार
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा नगएपछि सँसदीय सुनुवाइ छलेर मङ्गसिर ३० गते भागबन्डामा गरिएको ३८ पदको नियुक्ति कार्यान्वयनका निम्ति आज बोलाइएको संवैधानिक परिषद् बैठक बस्न सकेन । यसअघिको परिषद् बैठकले गरेको नियुक्ति कार्यान्वयन नगर्न अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेश गर्नुभएको बुझिएको छ । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालत स्राेतले बताएको छ ।
अदालतमा महान्यायाधिवक्ताले सरकारको तर्फबाट बहस गर्ने क्रममा इजलासबाट सोधनी भएका प्रश्नहरूको सोझो जवाफ दिन नसकेको टड्कारो अवस्था देखिएको सन्दर्भमा उत्पन्न पछिल्लो घटनालाई सबैले चासोपूर्वक हेरिरहेका छन् । कानुनविद्हरू भन्छन् ‘संसद विघटनको प्रतिरक्षामा उपस्थित हुन मुद्दाका विपक्षीहरूलाई कानुनी र संवैधानिक अप्ठेराहरू छन् ।’
अध्यादेश ल्याएर अनेक तिकडम गर्दै गर्न खोज्नुभएको संवैधानिक नियुुक्तिमा देखिएको पछिल्लो अवरोध प्रधानमन्त्रीको निम्ति नसोचेको सेट ब्याक भएको बताइन्छ । अदालतमा सरकार विपक्षी रहेको मुद्दा विचाराधीन रहेको भन्दै प्रधानन्यायाधीश राणा आगामी बैठकहरूमा उपस्थित नहुने स्रोतको दाबी छ । उहाँले शुरुको बैठकमा भाग लिएर प्रधानमन्त्रीको मन राखिदिनुभयो, अहिले बहिष्कार गरेर कानूनको कदर गर्दै हुनुहुन्छ ।
टिप्पणीहरू