डा. गोविन्द के.सी.को अर्काे सत्याग्रह
सामाजिक अभियन्ता डा. गोविन्द के.सी.ले पुनः सत्याग्रह थाल्ने भएका छन् । यसअघिका आफ्ना माग पूरा नभएमा आगामी फागुनमा अर्को चरणको सत्याग्रह थालिने मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा गरेको संसद विघटनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै संविधानको रक्षा गर्न र विधि, प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक नियुक्तिका सिफारिसलाई तत्काल रद्ध गर्न समेत माग गरेका छन् ।
उनले भनेका छन् ‘अहिले गम्भीर राजनैतिक संकट छ, तर त्योभन्दा ठूलो संवैधानिक संकट हाम्रा सामु छ । लोकतान्त्रिक व्यवस्था जोखिममा छ भने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको छ ।’
एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत रहेको सन्दर्भ उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ ‘हाम्रा कति मागहरू अहिलेसम्म पूरा भएका छैनन् र हामीसित भएका धेरै सम्झौता कार्यान्वयनमा गएका छैनन् । चिकित्सा शिक्षा नियमावलीमा विसं. २०८५ देखि मेडिकल शिक्षालाई गैर–नाफामूलक बनाउने भन्ने ऐनका प्रावधानहरू समेटिएका छैनन् । ऐन नुसार सार्वजनिक संस्थाका रूपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति दिएका छैनन् । यी सबै एजेण्डाका लागि हामी निरन्तर लडिरहनेमा कसैले शंका नगरे हुन्छ ।’
केसीले केपी ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै होइन, सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहने उल्लेख गर्दै अहिलेकै गतिमा प्रतिगमन अगाडी बढेको अवस्थामा निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर देखिएको बताएका छन् । उनले भनेका छन् ‘न्यायालयको स्वतन्त्रता र न्यायिक सुशासनका लागि हाम्रो सचेत प्रयास उत्तिकै आवश्यक छ । हाल सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई नागरिकले निकटतापूर्वक निगरानी गरिरहेका छौं । देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्नेछ भन्ने सबै नागरिकको अपेक्षा छ ।’
त्यसैगरी संवैधानिक निकायहरूको कार्य सम्पादनमा आफूहरूको चासो र निगरानी रहेको समेत केसीले जानकारी गराएका छन् । उनले अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्टहरूमाथि आवश्यक छानबीन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्नेर्छौं ।’
टिप्पणीहरू