२ नम्बर प्रदेशमा चुनावको चुमचुम

२ नम्बर प्रदेशमा चुनावको चुमचुम

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा गर्नुभएको सम्बोधनलाई चुनावी आमसभाको शुरुआतको रूपमा लिइएको छ । दुवै ठाउँमा सोचेभन्दा बढी मान्छे देखेपछि प्रधानमन्त्री भाषण गर्दागर्दै जोशिनुभएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा मान्छे थु्पार्ने मेसो र जिम्मा कानून मन्त्री लीला श्रेष्ठको थियो ।

सुरक्षा निकायले पनि एकै दिन २ नम्बर प्रदेशको दुई स्थानमा आयोजित कार्यक्रमलाई सुरक्षित तवरले सफल बनाएको भन्दै रिपोर्टिंङ्ग गरेको छ । प्रधानमन्त्रीले भाषणमै उक्त प्रदेशमा पहिलो चरण अर्थात् बैशाख १७ गते चुनाव हुने बताउनुभएको थियो । २ नम्बर प्रदेशमा ८ वटा जिल्ला छन् । सबैमा ४ जनाको दरले ३२ सांसद संघीय र ८ जनाको दरले ६४ प्रदेश सांसद चुनिने व्यवस्था छ । प्रधानमन्त्रीको समेत निर्देशन सुनेपछि स्थानीय सुरक्षा निकायले सुरक्षा योजना बनाउन थालेको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा २ नं.को साथै,गण्डकी र सुदूर पश्चिमाञ्चल प्रदेशमा निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । बाँकी प्रदेशमा भने दोस्रो चरण अर्थात् बैशाख २७ गते हुने छ ।

यसैबीच अन्यत्रको तुलनामा २ नम्बर प्रदेशका काँग्रेसी नेता तथा कार्यकर्ताहरू अब आफ्नो दिन आएको भन्दै चुमचुमाउन थालेको जनकपुरस्थित संवाददाताले बताएका छन् । पान पसल र चिया पसलमा समेत उनीहरू जुर्मुराएको स्थानीयले सजिलैसँग देख्न र अनुभव गर्न थालेका छन् । उनीहरूको निश्कर्ष छ ‘संसद पुनस्र्थापना भएपनि,चुनाव भएपनि काँग्रेसको दुईवटै हातमा लड्डु ।’

प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमपछि नेकपाको संगठन र अवस्था छिन्नभिन्न भएको छ ।

टिप्पणीहरू