उपत्यकामा आज के भयो, अनि के हुँदैछ ?

उपत्यकामा आज के भयो, अनि के हुँदैछ ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायण नगरपालिका–५ कमिटीले आफ्नो बिस्तारित बैठक बिहान साढे सात बजे निर्माणाधीन नागेश्वर महादेव मन्दिर, छालिङ्ग, भक्तपुरमा सम्पन्न गरेको छ । त्यसैगरी नेकपा ओली समूह, सूर्यविनायक नगरपालिका–६ वडा कमिटीले बिहान ८ बजे भक्तपुर गेष्टहाउसमा वडास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम गरेको छ ।

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा बिजी मल गोंगबुको बिजी मल अगाडी बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पुस्तक प्रदर्शनीको कार्यक्रम राखिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरुद्ध घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार काठमाडौंका १५ वटा क्याम्पस अगाडी कालो झण्डासहित बिहान ९ बजेदेखि साढे नौ बजेसम्म चक्काजाम गरेको छ ।

उता, वीर अस्पतालमा कार्यरत चिकित्सकहरूले कोभिड–१९ को बेलामा फ्रन्ट लाईनमा बसि काम गरेवापतको जोखिम भत्ता अहिलेसम्म नपाएको भन्दै ईमर्जेन्सी सेवा बाहेकका सेवाहरू बन्द गरी बिहान १० बजेदेखि धर्ना दिएका छन् । त्यसैगरी नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारीहरूले पनि बिहान १० बजेदेखि गत वैशाख महिनाबाट तलब नपाएकोमा विभिन्न माग राखी विरोध प्रदर्शन गरेका छन् ।
सामाजिक संस्था अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगम जंग केसी सुनिल महर्जन र लोहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिस लाशको उचित व्यवस्थापन गराउन दबाव सिर्जना गराउने उद्देश्यले बिहान सवा दश बजेदेखि सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय समितिले अर्पण ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सातौं राष्ट्रिय भेला कार्यक्रमको आयोजना गरेको छ । नेकपा ओली समूहको वागमती प्रदेश कमिटीले माघ २३ गते आयोजना गरेको जनसभा तयारीका लागि बृहत् मोटरसाइकल र्यालीमा सहभागी हुन भक्तपुर जिल्ला पार्टी कार्यालयले सूर्यविनायकदेखि बिहान ११ बजे मोटरसाइकल र्यालीको आयोजना गरेको छ । सोही समूहले बृहत् मोटरसाइकल र्यालीमा सहभागी हुन अनेरास्ववियू केन्द्रीय संयोजक ऐन महर लगायतका विद्यार्थीहरू मिनभवन क्याम्पसमा भेला भई साढे ११ बजे बालकुमारी हिँडेका छन् ।

जनता समाजवादी पार्टी नेपाल लिम्वुवान राष्ट्रिय सम्पर्क समितिले मध्यान्ह १२ बजे ट्रेड यूनियन महासंघ केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा उक्त दलका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा लिम्वुवान राष्ट्रिय सम्पर्क समितिको संयोजन तथा नवप्रवेशीलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय कमिटीले विभिन्न माग राखी धर्नासहित सामाजशास्त्र केन्द्रीय विभाग, किर्तिपुरमा मध्यान्ह १२ बजेदेखि ताला लगाएको छ ।

नेकपा ओली समूहले आज काठमाडौंमा बृहत् मोटरसाइकल र्याली कार्यक्रम आयोजनाको कार्यक्रम राखेको छ । र्याली दिउँसो १ बजे बालकुमारी पुलबाट सातदोबाटो, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, कान्थिपथ, दरबारमार्ग, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर समापन हुने छ ।

सोही समूह निकट नेपाल भूमिहीन सुकुम्वासी संगठन केन्द्रीय समितिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा दिउँसो १ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा राष्ट्रिय भेला कार्यक्रम राखेको छ ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राखी पानी समेत नखाई वीर अस्पतालमा पुस ६ गतेदेखि थालेको सत्याग्रह आज पनि जारी छ । अधिकारीको सत्याग्रह स्थल ट्रमा सेन्टरबाट माघ १० गतेदेखि वीर अस्पतालको पहिलो तल्लाको ७ नं. क्याबिनमा सारिएको जनाइएको छ ।

टिप्पणीहरू