भोलि नेपाल बन्द, परीक्षा सञ्चालन यथावत्
प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा (बहुमत) ले भोलि माघ २२ गते आकस्मिक आमहड्तालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडा,कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले उक्त जानकारी गराउनुभएको हो । उहाँले भन्नुभएको छ ‘असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यहरूको नियुक्तिको ज्यादतिपूर्ण निरंकुश कदमको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ माघ २२ गते देशव्यापी आमहड्तालको आह्वान गर्दछ ।’
सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘संविधानतः केपी ओलीको सरकार स्वतः कामचलाउ भइसकेको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन गर्ने,राष्ट्रिय भूमि आयोगको अध्यक्ष र सदस्य नियुक्त गर्ने,पूर्वप्रधानन्यायाधीश र कानुन व्यवसायीहरूलाई अपमानित गर्दै धम्क्याउने,अदालत र निर्वाचन आयोगलाई सार्वजनिक रूपमै दबाव दिनेजस्ता कामप्रति खेद छ ।’
केपी ओलीको कामचलाउ सरकार र राष्ट्रपति मिलेर गैरकानुनी ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारी तथा सदस्यहरूलाई आजै शपथ ग्रहण गराएकोमा त्यसप्रति आपत्ति जनाउँदै खारेजीको मागसमेत गरिएको छ ।
सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘संवैधानिक परिषदको बैठकमा त्यसका एक सदस्य प्रतिनिधिसभाका सभामुखलाई प्रक्रियासंगत ढंगले उपस्थितिको लागि आमन्त्रित समेत गरिएको छैन । त्यसैले सो बैठक नै अवैधानिक छ,’ भन्दै ‘संविधानमा संवैधानिक अंगका पदाधिकारी र सदस्यहरूको संसदीय सुनुवाई हुनुपर्ने अनिवार्य व्यवस्था छ ।
भोलि झिसमिसेमै कहाँ कहाँ जम्मा हुने ?
-गोङ्गबु चोक
– बालाजु चोक
– नारायणगोपाल चोक
– चाबहिल चोक
– कोटेश्वर चोक
– भोटाहिटी चोक
– कलंकी चोक
– बल्खु चोक
– फर्पिंग चोक
– थानकोट चोक
सरकार आफैँले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेर संसदीय सुनुवाई समिति सुचारु हुन नसक्ने स्थिति उत्पन्न भएको वर्तमान अवस्थाका कारणले सभामुखले सुनुवाई हुन नसक्ने जानकारी गराउँदै संवैधानिक परिषद्मा फाइल फिर्ता पठाएको तथ्य पनि सबैलाई ज्ञात नै छ । यति हुँदाहुँदै पनि आज शपथ ग्रहण गराउनु निरंकुशता, जोरजर्बजस्ती र निर्लज्जताको पराकाष्ठा हो’ भनिएको छ ।
नागरिक समाजको शान्तिपूर्ण आन्दोलनमा निर्ममतापूर्वक बल प्रयोग गर्ने,प्रहरी प्रशासन र सरकारी गुण्डा लगाएर युवा विद्यार्थीलाई जथाभावी आक्रमण गरी घाइते बनाउने जस्ता कुकार्यप्रति बिरोध गर्दै माघ २२ को देशव्यापी आन्दोलनमा सहभागी हुन नेकपा (बहुमत) ले सम्पूर्ण जनसमुदायलाई आग्रह गरेको छ । उसले आमहड्तालमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्थाहरू बन्द हुने उल्लेख गर्दै अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधीलगायत अत्यावश्यक सेवाहरू सुचारु रहने र विद्यार्थीहरूको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ ।
बन्दको पूर्वसन्ध्यामा काठमाडौमा मसाल जुलुस र मोटरसाईकल र्याली
https://www.facebook.com/Janaasthanews/videos/3504600209649425
टिप्पणीहरू