कस्तो रह्यो काठमाडौँमा आजको बन्द ?
नेकपा (बहुमत) ले आव्हान गरेको आमहड्तालको प्रभाव देशव्यापी रूपमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध नेकपा (बहुमत) ले आज आयोजना गरेको आमहड्तालका कारण उपत्यकाको चक्रपथभित्रको जनजीवन प्रभावित बनेको छ ।
बन्दले विशेषगरी चाबहिल, गौशाला, कलंकी, बल्खु, कोटेश्वरे, पुल्चोक, रत्नपार्क, सातदोबाटो लगायतका क्षेत्रहरू सबैभन्दा धेरै प्रभावित भएका हुन् ।
बिहान उपत्यकाका गौशाला, रातोपुल, मैतिदेवी, पुतलीसडक, माईतीघर, पुल्चोक, लगनखेललगायतका सडकमा सीमित मात्रामा दुईपाङग्रे सवारी साधन र फाट्टफुट्ट ट्याक्सीहरू गुडेका थिए । कार्यालय समयमा केही सवारी साधन गुडेपनि दिउँसभरी ती क्षेत्रमा सवारी साधन फाट्टफुट् गुडेको देखिन्थ्यो ।
उपत्यकाका मुख्य सडकहरूमा एम्बुलेन्स, पानी बोकेका ट्रक, दुधका गाडीलगायतका अतिआवश्यक साम्रागी बोकेका सवारी साधनहरू मात्र गुडेका थिए । भाडाका सवारी साधनहरू लगभग ठप्प थियो । यदाकदा ट्याक्सी देखिएपनि यात्रुले प्रयोग गरेको देखिँदैनथ्यो । बिहीबार बिहानै सुरक्षाकर्मीले कलंकीबाट नेकपा (बहुमत) कि नेतृ अष्टलक्ष्मी शाक्यलाई गिरफ्तार गरेपछि बल्खु, कलंकी क्षेत्रमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको थियो । त्यसपछि कुलेश्वर क्षेत्रको भित्री भागमा केही पसल खुलेका थिए ।
पुल्चोक–लगनखेल सडक खण्डमा तैनाथ सुरक्षाकर्मीलाई नेकपा (बहुमत) स्थायी कमिटि सदस्य पम्फा भुसालले शान्तिपूर्ण आमहड्तालमा उत्रिएका आन्दोलनकारीमाथि दमन नगर्न सुझाव दिनुभएको थियो । पत्रकारहरूसँगग बोल्दै भुसालले प्रधानमन्त्री ओली नेपाली जनताको त्यागबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने खेलमा लागेकोले त्यसको रक्षार्थ आमहड्ताल गर्नुपरेको बताउनुभएको थियो । उहाँले हड्तालबाट पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमासमेत माग्नुभएको थियो ।
पुल्चोक
टिप्पणीहरू