आमहड्तालमा यति धरपकड

आमहड्तालमा यति धरपकड

नेकपा (बहुमत) ले आह्वान गरेको बिहीबारको नेपाल बन्दमा प्रहरी प्रशासनले व्यापक धरपकड गरेको छ । त्यसक्रममा सबैभन्दा पहिले सबेरै कलंकी चोकबाट स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायत केही नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यसक्रममा केन्द्रीय सदस्य तथा संघर्ष समितिका सचिव डा. विजय पौडेल तथा केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापालगायतका नेता तथा कार्यकर्तालाई समेत प्रहरीले गिरफ्तार गरेको थियो ।
उता चाबहिलबाट केन्द्रीय कमिटी सदस्य कृष्ण केसीसहितका नेताहरूलाई र बागबजारबाट युवा नेता रमेश मल्लसहित केही विद्यार्थीलाई गिरफ्तार गरिएको थियो । काठमाडौंमा गिरफ्तार गरिएका ७२ जना नेता तथा कार्यकर्तालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजगञ्जमा राखिएको थियो ।
उपत्यका बाहिर पनि प्रहरीले गिरफ्तार गरेको छ । त्यसक्रममा तनहुँमा केन्द्रीय कमिटी सदस्य प्रतापलाल श्रेष्ठका साथै अतिन्द्रकेशरी न्यौपाने,ओमराज आले,विष्णुभक्त सिग्देल,श्रीराम कार्कीसहित १६ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताइन्छ ।
आमहड्तालको क्रममा जनकपुरमा निकालिएको जुलुशमाथि प्रहरीले पछाडिबाट प्रहार गरेको थियो । प्रहारबाट केन्द्रीय कमिटी सदस्य रामचन्द्र झाको टाउकोमा तीन वटा चोट लागेको बताइन्छ । त्यहि क्रममा स्थायी कमिटी सदस्य मातृका यादवको गोडामा चोट लागेको छ । प्रहरीको प्रहारबाट काशिराम यादवको टाउको र उमेश साहको हात र छातीमा गम्भीर चोट लागेको छ । १० जना कार्यकर्ता घाइते भएका छन् भने १२ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
त्यसैगरी वीरगञ्जमा पनि रामबाबु बैठा,रहबर अन्सारी,मनोज चौधरी, प्रभाकर गुप्तालगायत ३५ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । सिरहामा विवेक परियार, विराट मण्डललगायतका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको थियो ।
बारामा पनि प्रहरीले मुकेश साह, जवाहिर अन्सारी,हरिओम साह, राजेश पटेलसहित छ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो । बिराटनगरमा पारुल क्षेत्रीसहित सात जना र धरानमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । उता कास्कीमा विनायक तिमिल्सेनालाई प्रहरीले गिरफ्तारी गरेको बताइएको छ ।

टिप्पणीहरू