बन्दमा पनि सेयर बजार उर्लियो

बन्दमा पनि सेयर बजार उर्लियो

नेपाल बन्दको समाचार बाहिरिएलगत्तै ह्वात्तै घटेको सेयर बजार हिजो बन्दको दिन उकालो लागेको छ । हिजोको संकेतले आजको सेयर कारोबारमा ठूलै असर पर्ने अड्कलबाजीलाई किनारा लगाइदिएको छ ।

२४७९.६१ अंकमा पुगेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ह्वात्तै १३ मिनेटमै २४४३ अंकसम्म झरेको थियो । तर,२० मिनेटभित्रै बजारले भी आकार तय गर्दै २४८१ अंकसम्म चढ्यो । फेरि, घट्ने संकेत गरेको बजार भने सम्हालिँदै अन्तिम समयमा ८.३४ अंकले बढेर २४७५.२६ मा बन्द भएको छ ।

बिहीबार दाहाल-नेपाल समूहको आमहडतालले सेयर बजारमा ठूलै असर पार्छ भन्ने आँकलन गरिए पनि लगानीकर्ताले आमहडताललाई अस्वीकार गरेका छन् । बजार खुल्ने बित्तिक्कै नेप्से २४७९.६१ अंकमा पुगेको थियो । लगत्तै घटेर २४४३ अंकमा झरेपछि सबैले हड्तालको प्रभावको रूपमा लिएका थिए । केही मिनेटभित्रै फेरि उकालो लागेको सेयर कारोबार पुनः २४८१ अंकमा पुगेर अन्तमा २४७५.२६ मा बन्द भएको हो ।

हिजोको कारोबारमा पनि लघुवित्त र जलविद्युत् कम्पनीहरूमा धेरै लगानीकर्ता झुम्मिएको देखिन्थ्यो । अरु क्षेत्रहरूमा विशेषगरी निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनमूलक र अन्य समूह पनि उकालो लागेको पाइयो । तर,बैंकिङ समूह र जीवन बिमा समूह केही दिनदेखि ओरालोमा देखिन्छन् । हिजो सेयरबजारमा ७ अर्ब ६१ करोड ५१ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

टिप्पणीहरू