भोलि शनिबार टुँडिखेलमा मानव साङ्गलो
प्रतिनिधिसभा विघटन विरुध्द विभिन्न पेशाकर्मी तथा श्रमजीवीले मानव साङ्गलो बनाएर टुँडिखेल घेर्ने भएका छन् । नेपाली काँग्रेसनिकट १८ वटा पेशाकर्मी तथा श्रमजीवी संगठनले शनिबार संयुक्त रूपमा टुँडिखेल घेर्ने तयारी गरेका हुन् । त्यस्तै,शनिबार नै देशभरका जिल्ला सदरमुकामहरूमा पनि मौन विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
आयोजकले दिएको जानकारीअनुसार प्रदर्शनकारीले कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्नेछन् । भौतिक दूरी कायम गर्दै मास्क लगाएर छातिमा प्लेकार्ड टाँसी विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।
प्रदर्शनमा ‘प्रतिनिधिसभा पुनर्बहाली गर’, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद’, ‘वर्तमान सरकारको उपहार–महंगी,कुशासन र भ्रष्टाचार’, सर्वसत्तावाद मूर्दावाद’, ’पेशाकर्मीलाई बनायो आहत–महामारीमा पनि दिएन राहत’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिने छ ।
टिप्पणीहरू