सरकारले सोचेजति जुटेन सहभागिता
प्रधानमन्त्री केपी ओलीले निकै तामझामका साथ नारायणहिटी राजदरबारको मुख्य पटांगिनी बाहिर आयोजना गर्न लाग्नुभएको आजको आमसभा मध्यान्ह १२ बजेबाट शुरु हुने बताइएपनि ठाउँ ठाउँबाट बल्ल र्याली निस्कन थालेको छ । सभास्थलबाट प्राप्त जानकारीअनुसार आजको आमसभालाई प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्नुहुनेछ ।
साढे १२ बजेको हाराहारीमा वास्तविक आमसभा कस्तो हुन्छ २३ गते हेर्नु भन्ने प्रधानमन्त्रीको चुनौतीलाई साकार रुप दिन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपत्यका छिरिसक्नुभएको छ । पर्यटनमन्त्री भानुभक्त ढकाल र कानुनमन्त्री लीला श्रेष्ठ पनि कार्यक्रमस्थलमा देखा पर्नुभएको छ । अहिले भर्खरै डेढ बजेतिर कार्यक्रमस्थलमा प्रधानमन्त्रीको प्रवेश भएको छ ।
३ लाख मान्छे उतार्ने भनिए पनि ५० देखि ६० हजार जना उपस्थित गराउनैपर्ने तयारी थियोे । तर, प्रधानमन्त्रीको पछिल्लो असंवैधानिक कदम र बिग्रँदो राजनीतिक घटनाक्रमले जनता यस्ता कार्यक्रममा सामेल हुन दिक्क मान्दै गरेको प्रतित हुन्छ । यो समाचार तयार पारुञ्जेलसम्मको वस्तुस्थिति हेर्दा जयनेपाल हल बाहिरको सडक साम्य छ । आदिवासी जनजाति महासंघको व्यानरबाहेक कार्यक्रमस्थलमा संस्थागत उपस्थिति खासै देखिएको छैन ।
केशरमहलदेखि जयनेपाल हलसम्म र दक्षिणतर्फ तीनधारा पाठशालासम्मको सडक खाली बनाइएपनि साढे १२ बजेसम्म उल्लेख्य संख्यामा मानिस जम्मा भएको देखिँदैन । यसैबीच साँगा भञ्ज्याङ्गबाट केही सवारी साधनमा सहभागी भित्रिएका छन् भने नुवाकोट र नागढुंगा नाकाबाट उल्लेख्य संख्यामा आएको देखिँदैन ।
फर्पिङ्गबाट आज बिहान २ वटा टाटा सुमोमा सहभागी ल्याइएको छ । सिस्नेरी नजिकै बाटो मर्मत भएकाले उक्त मार्गबाट सवारी साधन थोरै चलेको बताइन्छ । उपत्यकाबाहिरबाट आज बिहानसम्म कार्यक्रमको सहभागी बोकेको सवारी साधन खासै नछिरेको सुरक्षा स्रोतको भनाइ छ । नागढुंगाबाट भित्रिएको सवारी साधनलाई हेर्दा पनि त्यो पुष्टि हुन्छ ।
आज बिहान नागढुंगा नाका हुँदै भित्रिएका ओलीपक्षीय नेता तथा कार्यकर्ता र सहभागीहरुको संख्या मोटामोटी प्रदेश १ बाट ९ वटा साधनमा ३ सय जना,प्रदेश २ बाट १ सय ६ वटा साधनमा ३ हजार ९ सय जना,बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट ६ वटा सवारी साधनमा डेढ सय जना रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशबाट २५ वटामा सातसय जना,लुम्बिनीबाट ४ वटामा १ सय ४८ जना, कर्णालीबाट ३ वटामा १ सय दुई जना र सुदूर पश्चिम प्रदेशबाट कुनैपनि सवारी साधन र सहभागी आएको देखिँदैन । उपत्यका बाहिरबाट नागढुंगा भएर डेढ सयवटा मझौला सवारी साधनमा पाँच हजार तीन सय ९७ जना उपत्यका छिरेको ट्राफिक प्रहरीको रेकर्डबाट देखिन्छ । साना,निजी र टाटासुमो गरी ३८ वटामा दुई सय ६० जना भित्रिएको सुरक्षा स्रोतले बताएको छ ।
बूढानीलकण्ठबाट दुई सय करिबको जुलुश आएको छ भने पाटनबाट हरिकृष्ण ब्यन्जबकारले पाँच सय जनाको जुलुशलाई नेतृत्व गरेका छन् । गणेश बस्नेत नेतृत्वको पार्टीनिकट पत्रकार टोली पनि प्रदर्शनीमार्गबाट दरवारमार्गतिर मोडिएको छ ।
टिप्पणीहरू