सरकारी नियुक्तिबिरुध्द सभामुख सर्वोच्चमा
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै संवैधानिक निकायमा असंवैधानिक तवरले गर्नुभएको नियुक्तिबारे आज सञ्चारकर्मीहरुसँग छलफल गर्नुभएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा नियुक्ति बदरको माग गर्दै आजै हालिएको रिटको बारेमा सभामुखले सञ्चारकर्मीहरुसँग छलफल गर्नुभएको हो ।
उहाँले भन्नुभयो ‘श्रृंखलाबद्धरुपमा संविधान उल्लंघन भएपछि म सोको रक्षार्थ संविधान र कानुनको अन्तिम ब्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालत पुगेको छु । यो कदम विशुद्ध संविधानको संरक्षण र संवर्धनका लागि हो ।’ उहाँले स्वेच्छाचारी ढंगले संविधानवाद र कानुनी शासनमाथि खेलबाड गर्दै,संसद छलेर संविधान विपरीतका कार्यहरु थपिँदै जाने अवस्थाले मुलुकमा भयावह अवस्था उत्पन्न हुनसक्नेतर्फ औंल्याउनुभएको छ ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि हलमा भएको छलफलमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद् काम, कर्तव्य,अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गर्ने,सोही अध्यादेशअनुसार अनधिकृत रुपमा बैठक बसी पदाधिकारी सिफारिश गर्ने, प्रतिनिधिसभा विघटन गर्ने, संसदीय सुनुवाईबेगर संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गर्नेलगायतका काम कारबाहीले संविधानमाथि एकपछि अर्को प्रहार भइरहेको छ ।’
सभामुखले प्रधानमन्त्रीले ठाडो आदेशमा गर्नुभएको गैरसंवैधानिक नियुक्तिलाई उल्लेख गर्दै लेख्नुभएको छ ‘संवैधानिक परिषद्ले विधिसम्मत ढंगले पुनः सिफारिश गरी अनिवार्य रुपमा संसदीय सुनुवाइका लागि सिफारिश गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदहुँदै माघ २१ गते सपथ गराउने कार्य भएकोले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको छ । यसले कानुनी शासन र संवैधानिक विकासमा ठूलो अवरोध सिर्जना गरेको छ ।’
यो रिटउपर पर्सि आइतबार गठन हुने इजलासले सुनुवाइ गर्नेछ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2021/02/1-Court-file.pdf” title=”1 Court file”]
टिप्पणीहरू