बादलले चिडियाघरमा थुन्ने
चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला नेकपाका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले तानाशाह बन्ने दुःस्वप्न नदेख्न चेतावनी दिनुभएको छ ।
गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री ओली र उनको समूह निरङ्कुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि भएको रावलको टिप्पणी छ ।
थापाको अभिव्यक्ति सार्वजनिक भएलगत्तै ट्वीट गर्दै रावलले भन्नुभएको छ, ‘प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्न देखिरहनुभएको पुष्टि हुन्छ । तर, निरंकुशता ढल्छ ।’
यसअघि थापाले आज दिउँसो नारायणहिटी राजदरबारको दक्षिणी पटांगिनीमा आयोजित सरकारपक्षीय आमसभामा बोल्ने क्रममा नेकपा (बहुमत) ले सञ्चालन गरेको आन्दोलनलाई ‘मांसाहारी आन्दोलनको घोषणा गरेको समूह’ को संज्ञा दिँदै अपराधी करार गरी जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिनुभएको थियो ।
सत्तामा बसेर तेस्रो जनआन्दोलनको घोषणा गृहमन्त्री थापाले गर्नुभएको छ । ‘आजको उपस्थितिले देखाएको छ,तेस्रो जनआन्दोलन सुरुआत भएको छ । प्रतिगमनको विरुद्ध नयाँ जनआन्दोलन सुरुवात गरेका छौँ ।’
गृहमन्त्री थापाले प्रचण्ड–नेपालपक्षले राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष (ओली) लाई अपदस्त गर्न खोजेको दाबी गर्दै त्यसलाई प्रतिगमन भन्नुभएको हो ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भन्दै आन्दोलन गरिरहेको पक्षलाई अपराधीको संज्ञा दिनुभएका गृहमन्त्रीले उल्टै प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको बताउनुलाई ‘हास्यास्पद’ तर्कका रूपमा विश्लेषण गरिएको छ ।
‘जसले जननिर्वाचित संस्था भङ्ग गर्यो उसको बचाउमा अर्को पक्षले प्रतिगमन गर्यो भन्नु जत्तिको हास्यास्पद तर्क अर्को के होला ?’ एकजना राजनीतिक विश्लेषकले प्रश्न गर्नुभयो, ‘राजनीतिमा न्यूनतम नैतिकतासमेत हराउँदै गएको योभन्दा अर्को उदाहरण के हुनसक्छ ?’
थापालाई सुझाव दिँदै उहाँले भन्नुभयो, ‘अर्को पक्षले साँच्चै प्रतिगमन गरेको उहाँ (थापा) लाई लागेको हो भने सरकार छाडेर सडकमा आउनुपर्यो, जनतालाई बताउनुपर्यो । सरकारमा बसेर तेस्रो जनआन्दोलनको ध्वाँस दिनु भनेको धामी पनि आफैँ र झाँक्री पनि आफैँ भनेजस्तै हो ।’
टिप्पणीहरू