सरकारी वकिललाई पनि तोकियो समय
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने सरकारपक्षका कानुन व्यवसायीहरूलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले समय निर्धारण गरिदिएको छ ।
आजको बहसको अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आइतबारदेखि घटिमा १० र बढीमा १५ मिनेटमात्र बहस गर्न पाइने जानकारी गराउनुभएको हो ।
सोमबारदेखि शुक्रबारसम्म सरकारको प्रतिरक्षामा उभिएका सात जना कानुन व्यवसायीले विघटनको पक्षमा बहस गरिसकेका छन् । शुक्रबारसम्म निर्धक्कसँग समय लिएर बहस गर्न पाएका सरकारपक्षका कानुन व्यवसायीले अब भने इजलासले तोकेको समयसीमामा रहेर बहस गर्नुपर्ने छ ।
यसअघि रिट निवेदकपक्षका कानून व्यवसायीहरूलाई पनि यसैगरी समय निर्धारण गरिएको थियो । मुद्दाको संवेदनशीलता र समयको चापलाई ध्यान दिएर समय निर्धारण गर्नुपरेको बताइएको थियो । बहस लम्बिँदै जाँदा निर्वाचनको मितिसम्म पनि पुग्नसक्ने अवस्थाप्रति न्यायाधीशहरूले बहसकर्तालाई सचेत गराएका थिए ।
टिप्पणीहरू