एमसीसीबारे नारा लगाउन किन रोकियो ?

एमसीसीबारे नारा लगाउन किन रोकियो ?

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले गत बिहीबार आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा दिउँसो पुल्चोक पुग्नुभएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीविरुद्ध नारा चर्काइरहेका प्रदर्शनकारीहरूलाई एकाएक रोक लगाउनुभएको थियो ।

उहाँले त्यसबेला सडकमा उपस्थिति नेता तथा कार्यकर्तालाई पार्टीको संघर्ष समितिले तय गरेको आधिकारिक नारा मात्र लगाउन र प्रयोग गर्न निर्देशन दिनुभएको थियो । तर, नेपाल बन्दका समाचार प्रकाशन र प्रशारण गर्ने क्रममा कतिपय सञ्चारमाध्यमहरूले केही दिनअघि अमेरिकी राजदूत र्याण्डी बेरीसँगको भेटपछि प्रचण्ड एमसीसीमा देखाउँदै आएको अडानबाट ‘ब्याक’ हुनुभएको सन्दर्भ जोडेका थिए ।

शुक्रबार बिहान ललितपुरमा आयोजित पत्रकार भेटघाटको क्रममा अघिल्लो दिनको आफ्नो निर्देशनलाई गलत ढंगले प्रचार गरिएकोबारे उहाँले स्पष्ट पार्दै पार्टीको घोषित कार्यक्रममा घोषित नारा मात्र लगाउनुपर्ने भएकाले त्यो बाहेक अन्यथा नगर्न कार्यकर्तालाई सम्झाएको बताउनुभएको छ । उहाँको भनाई थियो ‘हामीले बनाएको नारा एकातिर छ, बीचमा प्याच्च अर्कै नारा लगाइयो । त्यसबाट मलाई आन्दोलनमा को घुस्यो भन्ने पनि लाग्यो ।’
त्यसरी नारा लगाउने पनि आफ्नै पार्टीका कार्यकर्ता भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभएको छ ‘मैले जताततै त्यसरी तय गरिएकोभन्दा बाहिरको नारा नलगाउनुस् भनेको मात्र हुँ । त्यसको अर्थ म एमसीसीको समर्थनमा गएँ, नीति बदलेँ भन्ने कुरो होइन । हामीले पार्टीमा त्यो विषयलाई गम्भीर रूपमा लिएका छौं ।’

केही दिनअघि अमेरिकी राजदूतसँग गरेको भेटको प्रसंग उठाउँदै एमसीसी सम्झौता परिमार्जन गर्न जरुरी रहेको सन्देश दिएको उल्लेख गर्दै आफूहरू मुलुकको हित अनुकूल बनाउनुपर्ने अडानमा रहेको समेत जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो ‘हामीले रिजेक्ट गरेका छैनौं । तर, त्यत्तिकै हुन्छ भन्नेमा पनि छैनौं ।’

टिप्पणीहरू