बालुवाटारभित्रै सुनिए दुईथरी बोली

बालुवाटारभित्रै सुनिए दुईथरी बोली

बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यक्त गर्दै आउनुभएका उग्र गाली गलौजको समर्थन गर्नेहरू एकातिर छन् भने अर्कातिर सिरियस राजनीतिक मुडमा रहेकाहरू पनि सुषुप्त अवस्थामा छन् । पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर भएकाहरूले अर्को पक्षसँग भन्न थालेका छन्, ‘ए, लौ न कुनै उपाय छ कि पार्टीलाई बचाउनुपर्‍यो ।’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार बागलुङका गोविन्द नेपालीलगायतको धारणाले उक्त आशंकालाई पुष्टि गरेको बताइन्छ ।

नेपाली ओली समूहका गण्डकी प्रदेश सचिव पनि हुन् । उनले सामाजिक सञ्जालमा निरन्तर व्यक्त गरेका धारणामा ‘लौ न पार्टी जोगाऔं’ भन्ने भावुकता पाइन्छ । उक्त भावना र भावुकता स्वयं नेपालीको मात्र नभई गुरुङको समेत भित्री चाहना हो भन्नेहरू पनि कम छैनन् । किनभने गुरुङ आफैँ लमजुङबाट ०४३ सालदेखि पाँच पटक चुनाव हारेर बल्लतल्ल प्रदेशमा टिकट पाई जितेका हुन् । त्यही कारण पनि उनले अन्त जेसुकै होस् गण्डकीमा चाहिँ मिलेर बसौं भन्ने सन्देश फैलाएको निकटस्थहरूको दाबी छ । निकटवर्तीहरू भन्छन्, ‘उनको अब योभन्दा माथि जाने राजनीतिक रोडम्याप देखिँदैन ।’

त्यही कारण गण्डकीमा कसैले राजीनामा नदिऔं र अविश्वास प्रस्ताव पनि पेश नगरौं, मिलेर अघि बढौं भनिएको नेकपा (बहुमत) का स्थानीय नेताको बुझाइ छ । नेकपाभित्र गण्डकी प्रदेशमा तुलनात्मक हिसाबले ओली पक्ष अन्यत्रको तुलनामा सहज अवस्थामा देखिन्छ । त्यस्तो अवस्थामा पनि ओली निकटस्थहरूले ‘केही नगरौं’ भन्ने रणनीति अघि बढाउनुलाई अर्थपूर्ण ठानिएको हो । गुरुङ स्वयंले यसबीच बाहिर मुखै फोरेर केही भनेका छैनन् । उनी विगतमा झैँ उग्र पनि देखिएका छैनन् ।

उता, १ नं. प्रदेशका कानुनमन्त्री हिक्मत कार्कीले पनि हालैको एउटा अन्तर्वार्तामा पार्टीको इञ्चार्ज भीम आचार्य हुनुहुन्छ भनेर बताएको अवस्था छ । जबकि ओली समूहले यसबीचमा सुवास नेम्वाङलाई इञ्चार्ज बनाइसकेको छ । तैपनि, उहाँले अन्तर्वार्तामा ‘प्रदेश इञ्चार्ज भीम आचार्य हुनुहुन्छ, उहाँहरूले पहल गर्नुपर्‍यो, यो विषयलाई सेटल गरौँ, एउटै पार्टी छ, फुटेको छैन, निर्वाचन आयोगले त्यही भन्यो, त्यसकारण सहमतिमा जाऔँ’ भन्नुलाई स्थानीय नेता–कार्यकर्ताले भिन्दै अर्थमा बुझेका छन् । उनीहरू भन्छन्, ‘अरु चिप्ले पनि इञ्चार्ज फेरिसकेको अवस्थामा मन्त्री तथा जिम्मेवार नेताको मुखबाट पुरानै नाम आउनुलाई संयोग मात्र ठान्न सकिन्न ।

टिप्पणीहरू