२०३६ सालका एकजना अक्सलाइट
– राजकुमार दिक्पाल
एक राष्ट्रिय दैनिकमा वरिष्ठ समाचारदाता पदका लागि हुलाकबाट सुटुक्क दरखास्त पठाएको थिएँ । अन्तर्वार्तापछि संकेत पाएँ, त्यस दैनिकमा मेरालागि ढोका खुला हुँदै छ । नभन्दै अन्तर्वार्ताको एक सातापछि नियुक्ति पत्र बुझ्न बोलावट आइहाल्यो ।
समझदारीभन्दा इमान्दारीको प्रबलतालाई प्राथमिकता दिने मजस्तो सोझासिधा मान्छे शुरुमा त अक्क न बक्क भएँ । तत्कालीन विभागीय हाकिम पनि कामकारीभन्दा चाकरीवाजको समूहप्रति सहानुभूतिशील ! मचाहिँ सीमान्तकृतहरूको सवाललाई सञ्चारमाध्यमले यथोचित स्थान दिइनुपर्छ भन्ने मान्यता राख्ने मान्छे । सकेसम्म गहन खोजमूलक र मानवीय अभिरुचिका विषय पस्कनुपर्छ भन्ने मान्यता बोक्ने यो लेखकलाई प्रायः औपचारिक कार्यक्रममा मात्र असाइनमेन्ट मिल्थ्यो । मैले कस्तो हाकिम पाएँ भने बोलेर थाक्दै नथाक्ने, लेख्नचाहिँ खोज्दै नखोज्ने !
०००
कुरा १७ वर्षअघिको हो । एउटा सामान्य औपचारिक कार्यक्रमको जिम्मेवारी मिल्यो । ललितपुरको एक स्कुलमा कार्यक्रम थियो । धरानबाट काठमाडौं आएको बेला मेरै डेरामा बास बसेका ओमआस्था राई (हालः बिबिसीमा कार्यरत) भाइलाई घुम्न हुन्छ, ठाउँ पनि चिनिन्छ भन्दै लिएर गएँ ।
राउण्डटेबलमा भद्रभलाद्मीलाई बसाएर ल्यापटप खोली एक व्यक्ति अंग्रेजीमा लगातार धारणा राखिरहेका थिए । उनको प्रवचनको अन्तिमतिर मात्रै कुरा खुल्यो, यस्तो प्रस्तुति गर्ने व्यक्ति भर्खरै अवकाशप्राप्त ब्रिटिश गोरखा सैनिक हुन्, जसले बेलायतको सरे युनिभर्सिटीबाट विद्यावारिधि गरिरहेका छन् । उक्त सामान्य कार्यक्रमबाट आफूमा केही उपलब्धि हासिल गरेको अनुभूति लिएर फर्कें ।
एकातिर आफू पनि लाहुरेको छोरा, अर्कोतिर प्राज्ञिक क्षेत्रमा केही गरुँ भन्ने अभिलाषा । ती लाहुरेसँग तत्कालै भेट्ने वाचासहित बिदा भएँ । कार्यक्रम सकिएपछि उनले सहभागिताको प्रमाणपत्र थमाए । कार्यालय फर्केपछि हाकिमको चाहनाअनुसार संक्षिप्त समाचार लेखेर त्यो दिनको ‘जागिर’ पकाएँ ।
०००
फेरि भेटेर केही लेख्ने उत्साहसाथ निवासमा पुग्दा ती लाहुरे बेलायत फर्कन गुन्टा कस्दै थिए । समय छोटो थियो । चिनजानको क्रममा थाहा भयो, उनको बुवालाई पहिल्यै चिनेको रहेछु । सिंगापुर प्रहरीबाट सेवानिवृत्त भएर बसिरहेका बुवा सक्रिय देखिन्थे । धरानमा एक वर्ष पूर्णबहादुर गुरुङ र सरस्वती गुरुङ (स्व. कवि विमल गुरुङका मातापिता)को आश्रयमा रहँदा ठीक अगाडिको घरमा एक प्रौढ व्यक्ति बार्दलीमा बसेर लेखेको लेखेकै गरेको देख्थँे । पछि बुझ्दा थाहा भयो, उनी घरको आम्दानी खर्चको हिसाब दुरुस्त राख्ने गर्दा रहेछन् । उनैका लाहुरे छोरा चन्द्र लक्सम्बासँग छोटो अन्तर्वार्ता लिन पुगेको थिएँ ।
०००
चन्द्रलाई जति खोतल्दै गयो, उति नै गजबको पाटो उधिनिँदै आयो । उत्तरपूर्वी दुर्गम जिल्ला ताप्लेजुङको सिकैचा गाउँमा जन्मेर, धुले स्कुलमा पढेर पनि मेधावी विद्यार्थीको छवि बनाउन सफल उनी अमृत साइन्स क्याम्पस (अस्कल) मा आइपुग्दा विद्यार्थी नेता बन्न पुगे । ०३६ सालताका अखिलका जुझारु कार्यकर्ता । स्ववियु सभापति ।
राजालाई जनमत संग्रह घोषणा गर्न बाध्य तुल्याएको ०३६ सालको विद्यार्थी आन्दोलनको उभारले यस्तो रूप लियो कि त्यो आन्दोलनमा घुसपैठ पनि भएको थियो । विद्यार्थी आन्दोलनमा धोका दिन खोजेको भन्दै नेविसंघका नेता बलबहादुर केसी र नेप्रवियुका नेता शरणविक्रम मल्ललाई मोसो दलेर ठेलामा हाली नगर परिक्रमा गरिएको थियो । केसी र मल्लका लागि यस्तो अवसर जुराउने अघिसरा अखिल कार्यकर्तामध्ये चन्द्र पनि थिए ।
त्यो बेला अस्कल आन्दोलनको केन्द्र थियो । हिजोको नक्सलाइट विद्रोहबाट प्रेरित तत्कालीन मालेका भ्रातृवर्ग अखिलका र त्यसमा पनि अस्कलका विद्यार्थी नेता(कार्यकर्ताको नाम सूर्यबहादुर थापाले जुराइदिएका थिए ,‘अक्सलाइट ।’ यिनै अक्सलाइटमध्ये थिए, चन्द्र लक्सम्बा । उनलाई बंगलादेशमा चिकित्साशास्त्र पढ्ने अफर पनि आएको हो । तर, अफरले आकर्षित गरेन ।
अस्कलमा बिएस्सी पढिरहेका बेला घर धरान फर्के । केही समय गाउँमा गएर शिक्षण पेशा पनि अँगाले । ताप्लेजुङका चर्चित वामपन्थी नेता अम्बिका साँवा उनका ससुरा हुन् । यस नाता कटुम्बबाट पनि चन्द्रमा वामपन्थी राजनीतिप्रतिको अडानमा उकेरा लागेकै थियो । अन्ततः पारिवारिक पृष्ठभूमि, दबाब आदिका कारण ब्रिटिश गोर्खा सैनिकमा छाती नपाउन विवश भए र १९ वर्ष सैनिक जीवन बिताए ।
०००
पल्टनघरमा रहँदा पनि प्राज्ञिक क्षेत्रबाट टाढा बस्न सकेनन् । लण्डन र सरे युनिभर्सिटीबाट क्रमशः सार्वजनिक नीति, व्यवस्थापन र शिक्षामा स्नातकोत्तर गरे । त्यसपछि सरे विश्वविद्यालयबाट ‘नेपालमा जीवनपर्यन्त सिकाइ’ शीर्षकमा विद्यावारिधि गरे ।
चन्द्रको जीवनमा बडो गजबको ब्रेकडाउन छ । स्ववियु सभापतिहरूमध्ये लाहुरे बन्ने इतिहासको रचना गरे, उनले । चन्द्रको समयका लाहुरेहरूले विद्यावारिधि गरेका छैनन् । विद्यावारिधि गर्ने लाहुरेहरूमा पहिलो लाहुरे हुन्, हर्षबहादुर बुढा । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका । चन्द्रपछि रामनारायण कन्दङ्वाले पनि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरे । अर्का लाहुरे मुलिवीर राई हुन् । यी चारमध्ये बेलायतबाट पहिलोपटक विद्यावारिधि गर्ने लाहुरेचाहिँ डा. चन्द्र लक्सम्बा नै हुन् ।
०००
बेलायतमा रहँदा अनेक प्राज्ञिक काम र गोरखा भूतपूर्व सैनिकको अधिकार स्थापनामा पसिना बगाएका चन्द्रको मनमुटुलाई पछिल्लो समय मातृभूमिले तानेको थियो । बालकृष्ण समले ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भनेजस्तै उनी अनेक विकृति र विसंगतिको गुजुल्टोले गाँजिएको मातृभूमिमा स्तरीय प्राध्यापनमार्फत आफ्ना ज्ञान र सिकाइहरूलाई बाँडिरहेका थिए । तीन वर्षदेखि नेपालमा खुला विश्वविद्यालयमार्फत पढाइरहेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट पनि थिए । बाँकी जीवन नेपालमै बिताउने लक्ष्यसाथ नेपालमै बस्दै आएका थिए । जनवरीको पहिलो साता नेपाल फर्कने तरखरमा थिए । तर, कोरोनाको नयाँ प्रजाति फेला परेपछि उडान बन्द भएको बेला कोरोनाको शिकार भए । करिब निको भइसकेको बेला स्ट्रोकको आक्रमणमा परे । अन्ततः मृत्युसँग हारे । एक उज्ज्वल नेपाली प्राज्ञिक नक्षत्रको भौतिक रूपमा अस्त भयो ।
०००
विश्वविजयको यात्रामा निस्कन लाग्दा अलेक्जेण्डर ग्रेट आफ्ना गुरु एरिस्टोटलको आशीर्वाद थाप्न पुग्दा भनेका थिए, ‘गुरु, म त विश्वविजयका लागि निस्कन लागेको ।’
‘अलेक्जेण्डर, सफलता त भाग्यले पनि निर्धारण गर्छ तर सार्थक जीवनका लागि आफ्नो कर्मको महत्व ठूलो हुन्छ । उसै त तिमी राजाका छोरा हौ, भाग्यमानी त छँदै छौ तर सार्थक जीवनका लागि आफ्नै तर्फबाट खास मिहिनेत गर्न जरुरी छ’, एरिस्टोटलले चेलालाई सम्झाएका थिए । आज डा. चन्द्र लक्सम्बाको जीवन हेर्दा उनले सार्थक जीवन बाँचे । एउटा लाहुरे पृष्ठभूमिबाट विद्यावारिधि गरी प्राज्ञिक प्रकाशले कैयौँको हृदय उज्यालो बनाएर गए ।
टिप्पणीहरू