अब भन सती: नेपालीको किन यो दुर्गति ?

अब भन सती: नेपालीको किन यो दुर्गति ?

– जीवराज भट्टराई

मान्छे संसारकोे जुनसुकै कुनामा बसेको किन नहोस् ऊ खुशी र सुखी हुन चाहन्छ । त्यसका लागि एउटा महत्वपूर्ण शर्त हो– परिवारका सबै सदस्य सकेसम्म एकै ठाउँमा होउन् र यदि त्यसो हुन सकेन भने पनि टाढा भएकाहरू सकुशल रहुन् । तर, नेपालीको खुशीका लागि यो शर्त कहिल्यै लागू हुन पाएन । किनकि चानचुन तीन करोड जनसंख्या भएको मुलुकका झण्डै ८० लाख नौजवान विदेशमा छन् र तीमध्ये ९० प्रतिशतभन्दा बढी स्वेच्छाले नभई बाध्यताले बिदेसिएका हुन् ।

जवान छोरा जसमाथि सिंगो परिवार आश्रित थियो उसको लास दुई वर्षदेखि विदेशमा छ । लोग्नेसँग मुश्किलले तीन महिना पनि बस्न नपाएकी श्रीमतीको सिउँदो पुछिएको छ र दुईवटा भुरा आफू टुहुरो भएको कुरासँग आफैँ बेखबर छन् । त्यस्तो परिवारको खुशी कहाँ हुन्छ ? तिनीहरूका घरमा चाडपर्व कसरी आउँछ ? हरेक बिहान त्यो घरमा कुन खुशी लिएर सूर्य उदाउँछ र साँझ कुन सन्देश दिएर अस्ताउँछ ? बिहान–बेलुका कसरी खाना पकाएर खाने ? एकअर्काको मुखमा हेरेर कसरी हाँस्ने ? आज नेपालका कुनै गाउँ अछुतो छैनन् होला जहाँका नवयुवाको लास विदेशमा अलपत्र नपरेको होस् । वर्षौंदेखि लास न सास भई बेटुंगोको अवस्था नहोस् । अथवा कोमामा रहेको अवस्था नहोस् । तर, हाम्रो राज्यसत्ता भने वर्षांैदेखि यो तीतो यथार्थसँग बेखबर छ । त्यसैले त बाँच्नेले पठाएको पैसामा एउटा वर्ग रमाएकै छ । मर्नेको शोक जसलाई पर्छ उसैले गर्ने हो ।

तोकेको छ मासिक १२ हजार रियाल नेपाली सुरक्षागार्डले जम्मा १४ सय रियाल पाउँछन् । अरू कहाँ जान्छ ?

नेपाली गाउँमा मान्छे मर्दा बोकेर घाटसम्म पुर्‍याउने युवाको अभाव भएको धेरै भइसक्यो । बूढाबूढी र महिला, केटाकेटीले घिसार्दै, बिसाउँदै लैजानुपर्छ । केटाकेटीहरूले हाम्रा बा छन् कि छैनन् भनेर सोध्नुपर्छ । तर, यो सबै कुनै ठूलो महत्वाकांक्षा परिपूर्तिको सिलसिलामा भइरहेको छैन । भोको पेट पाल्न र नांगो हर ढाक्नका लागि मात्र हो । विदेश गएका नेपालीको श्रम शोषण उस्तै कहालीलाग्दो छ । कतार सरकारले सुरक्षागार्डको न्यूनतम पारिश्रमिक तोकेको छ मासिक १२ हजार रियाल तर त्यहाँ काम गर्ने नेपाली सुरक्षागार्डले मासिक जम्मा १४ सय रियाल पाउँछन् । अरू कहाँ जान्छ ? श्रमिकले आफैँ खोज्न सक्दैनन् । दुवै देशका सरकारलाई मतलव छैन ।

इतिहास साक्षी छ, अरू देशले आफ्नो साधन र स्रोतको अधिकतम उपयोग गरेर देशलाई समृद्धिको बाटोमा अघि बढाए । नेपाल भने अहिलेसम्म पनि जनता बेचेर आएको थोरै पैसामा रमाइरहेको छ । हो, हिजो राणाकालमा गोर्खा भर्ती दिएबापत ब्रिटिश सरकारले नेपाललाई वार्षिक पौने चार करोड र गोर्खा फौजका सन्तानको शिक्षादीक्षाका लागि भनेर ५४ लाख दिन्थ्यो । त्यही पैसामा राणाहरूले मोजमस्ती गर्थे । आज झण्डै ८० लाख नेपालीले विदेशमा बगाएको रगत–पसिनामा एउटा वर्ग रमाइरहेको छ । सिंगो मुलुक र आमजनता झन्् कंगाल बनिरहेका छन् ।

अठार बीस वर्षका छोरीचेलीहरू घरेलु नोकर बनेर खाडी मुलुकका घरघरमा नारकीय जीवन बिताइरहेका छन् । चौध÷पन्ध्र हजार रुपैयाँ मासिक तलबमा सात लाखभन्दा बढी नेपाली युवाले मलेसियामा दैनिक १८ घण्टासम्म तिघ्रा–पाखुरा बजारिरहेका छन् । यही स्थितिले त अब केही वर्षमै नेपाल भनेको घरेलु नोकरका लागि युवती रोजेर लैजान पाउने र संसारकै सबैभन्दा सस्ता मजदुर पाउने मुलुकको परिचयमा स्थापित हुनेछ । त्यसो हुनाले जतिसुकै फुर्ति गरे पनि यहाँ सत्ताधारीले उग्राउने भाषणमा अन्नको होइन घाँसको गन्ध आउन थालेको छ ।

यक्षप्रश्न अगाडि खडा छन्– के हामीले असल देश नपाएर यस्तो भएको हो ? के हामीलाई प्रकृतिले ठगेको छ ? पुर्खाले कुनै ठूलो गल्ती गरेर आज हामीले त्यसको सजाय पाइरहेको हो ? के हामीले इमान्दारीपूर्वक प्रयत्न गर्दागर्दै स्थिति काबुबाहिर गएको हो ? के जनस्तरबाट यति ठूलो कमजोरी भएको छ, जसकारण यस्तो सजायँ भोग्नुपरेको होस् ? के बारम्बारको प्राकृतिक प्रकोप, दुर्भिक्ष वा अवाञ्छित युद्ध व्यहोर्नुपरेका कारण यो अवस्था भएको हो ? अहँ, यो सब केही होइन । तैपनि, हिजोदेखि यस्तै चल्दै आयो, आज चलिरहेको छ र भोलि पनि चल्नै पर्नेछ । तर, कहिलेसम्म ? समयले यी सब कुराको एकेक जवाफ खोज्नेछ । त्यसमाथि निर्मम समीक्षा गर्नेछ । किनकि सधैँका लागि समय नाजवाफ भएर बसेको इतिहास छैन ।

यी कुरा कहीँबाट उधिनेर ल्याउनुपरेको होइन । फूलबुट्टा भरेर बनाउनु पनि पर्दैन । गाउँगाउँका, घरघरका र जनजनका कथाव्यथा हुन् । मुलुकले व्यहोरेका अनुभूत सत्य हुन् । यिनै कुरा लेख्दै जाँदा एउटा ठेली बन्यो । ज–जसले यसलाई पढे तिनीहरूले आफूलाई त्यहीँ भेट्टाए र भने– स्वदेश/विदेश जहाँ रहेका भए पनि नेपाली युवाको हातहातमा यो पुर्‍याउनुपर्छ । हो, यति ठूलो प्राकृतिक साधन–स्रोत र मिहिनेती जनता बसेको मुलुकका बासिन्दाले खोला किनारका प्यासीको नियति भोग्नुपरेको बिडम्बनालाई आजसम्म हामीले ‘सतीको सराप’ भनेर बस्यौं । प्रहरी महानिरीक्षकले आफ्नो शक्ति प्रयोग गरेर चन्दा उठाई प्रधानमन्त्री र प्रतिपक्ष दलको नेतालाई दिन बाध्य भएको कुरालाई प्रजातान्त्रिक अभ्यास भनेर मख्ख प¥यौं ।

के सतीसँग दिनका निम्ति सराप मात्र हुन्छ, आशिष हुँदैन ? के सतीको वचन सर्वसाधारण जनतालाई सराप र शाषकवर्गलाई आशीर्वाद सावित हुन्छ ? के सतीको सरापबाट कहिल्यै मुक्ति पाउन सकिँदैन ? यी प्रश्न आजसम्म अनुत्तरित नै रहे अब पनि यिनलाई अनुत्तरित रहन दिनु आफ्नो मनमस्तिष्कको विवेक र पाखुराको तागतमा भर नपरी किम्वदन्तीजस्तो लाग्ने सतीको सरापका पछि लाग्नु हुनेछ । आफूलाई उज्यालोतर्फको गन्तव्यमा नलगी अँध्यारोमै रमाउने मूर्खता हुनेछ । नेपाली युवालाई आज सन्देश दिनु आवश्यक छ भन्ने लागेर ‘सराप मोचन’ लेखियो । पुर्खाको नासो खेत त छ खेतमा धान फलाएर भात खाने कि खेत बेचेर भात खाने ? बाँकी खेतका हकदारको इच्छा ।

टिप्पणीहरू