बादललाई रोल्पामा थुन्ने दावी

बादललाई रोल्पामा थुन्ने दावी

सहिद, बेपत्ता योध्दा परिवार, बाग्मती प्रदेशको संयोजनमा सहिदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमविरुद्ध आयोजित कोणसभामा बोल्दै पूर्व सांसद जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको निम्ति झुसिलकीराको भूमिका खेलेको बताउनुभएको छ । त्यसैगरी पूर्व गृहमन्त्री शक्ति बस्नेतले परिवर्तनको बागडोर सम्हालेको पार्टीको प्रधानमन्त्रीबाट भएको घृणित कार्यले सबैलाई लज्जित बनाएको बताउनुभयो ।

उहाँले नागरिक समाज र सम्मानित निकायको सुुझावलाई लत्याउने ओलीको कदमलाई ट्रयाकमा ल्याउन पनि अदालतले संसद पुनःस्थापन गर्नु नै अहिलेको पहिलो प्राथमिकता र आवश्यकता रहेको बताउनुभएको छ । अन्य वक्ताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको चर्को आलोचना गरेका छन् ।

बबरमहलबाट शुरु भएको र्याली बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेर कोणसभामा परिणत भएपछि बोल्दै अगुवा लक्ष्मी गुरुङले मुलुकको पछिल्लो संविधान सहिदको रगतले लेखिएको हुँदा यसमा केपी ओली परिवारको कुनै भूमिका नभएको बताएकी छिन् ।

गुरुङ्गले प्रचण्डलाई चिडियाखानामा थुन्ने ध्वाँस दिने गृहमन्त्री बादललाई रुकुम,रोल्पा र इलामका वस्तीहरु उल्टिएपछि बादललाई नै थुन्ने झ्यालखाना बनाउने बताइन् । उनले घरमा सिस्नो माडेर र भोटे ताल्चा ठोकेर भएपनि आफूहरु नचाहँदा नचाहँदै सडकमा आउन बाध्य भएको उल्लेख गरिन् ।

त्यसैगरी, सहिद परिवार सदस्य प्रमोद पौडेलले जुन संविधानले आफूलाई प्रधानमन्त्री बनायो त्यहि संविधानमाथि कुठाराघात गर्ने व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताए । कार्यक्रममा बोल्दै द्वन्द्व प्रभावित हिमा रिजालले आफूहरुले द्वन्द पीडितको ट्याग भिरेर हिँड्नु परेको पीडा पोखेकी थिइन् । तर,सरकारमा रहेकाले आफन्तको रगतको टाटो सुक्न नपाउँदै गणतान्त्रिक व्यवस्थामाथि हमला गरिएकोले अहिलेको संवैधानिक ‘कू’ विरुद्ध डटेर लड्न नेताहरुलाई आग्रह गरेकी छिन् ।

नेकपाका केन्द्रीय सदस्य हरि दाहालले मुलुकका उत्पीडित जनताको लागि बादल,टोपबहादुर रायमाझी, लेखराज भट्टहरु धोकेबाज भएको बताएका छन् भने नेकपाका अर्का नेता युवराज चौंलागाईं ले ओलीले महेन्द्र पथमा हिँड्न खोजेको र जनतालाई लडाएर सहिदको संख्या बढाउन खोजेको आरोप लगाएको बताइन्छ ।

टिप्पणीहरू