अवैध लागूऔषधसहित दुई युवा पक्राउ

अवैध लागूऔषधसहित दुई युवा पक्राउ

नागढुङ्गा प्रहरी परिसरले अवैध लागूऔषधसहित शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान ९ बजे चन्द्रागिरी नगरपालिका २,नागढुङ्गा नाकामा नियमित चेकजाँच गर्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ५३४५ नम्बरको यात्रुबाहक बसमा सवार पर्सा, पकाहामैनपुर गाउँपालिका ४ बस्ने वर्ष २४ का तवरेज आलम दर्जी र सोही ठाउँका वर्ष २६ का केस मियालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको हो ।

प्रहरीले बसको यात्रु बस्ने बी साईडतर्फको ९, १०, ११ र १२ नम्बरको सिटमाथिको र्याकबाट बेवारिसे अवस्थामा रहेको फेनरागन ५ सय एम्पुल, डाईजेपाम ५ सय एम्पुल, लुपिजेसिक ३ सय एम्पुल, नुफिन २ सय एम्पुल गरी १ हजार ५ सय एम्पुल लागूऔषध बरामद गरेको छ ।

त्यसबखत बी साइडको ९ र १० नम्बर सिटमा दर्जी र मियाले मात्र यात्रा गरेका थिए । हाल प्रहरीको नियन्त्रणमा रहेका दर्जी र मियाले भने ती सामान आफूहरूको नभएको बताएका छन् । तर, शंका लागेर चेक जाँच गर्दा बी साइडको १० नम्बर सिटमा सवार दर्जीको ज्याकेटको भित्री खल्तीबाट अन्दाजी ३ ग्राम गाँजा र चिलिम १ थान समेत फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि दुवै जनालाई महानगरीय प्रहरीवृत्त थानकोटमा राखिएको बताइएको छ ।

टिप्पणीहरू