प्रधानमन्त्री यसै गएको हो र निर्वाचन आयोग ?
राज्यलाई नै मुठ्ठीमा राख्ने कोशिसमा लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार मध्याह्न दलबलसहित निर्वाचन आयोग पुग्नुभयो । प्रधानमन्त्रीले बोलाउँदा जुनसुकै सरकारी निकाय र पदाधिकारी रातारात जहाँ भन्यो त्यहिँ उपस्थित हुने परिपाटी छ । यसअघि बैशाखतिर यसैगरी प्रधानन्यायाधीश र अख्तियार प्रमुख बालुवाटार डाकिनुभएको थियो । त्यसअघि मानव अधिकार आयोग र पछि निर्वाचन आयोगको सिङ्गै बोर्ड बालुवाटार हाजिर भएकै हो तर,यो पालीचाहिँ त्यसो नगरी उहाँ आफैँ कान्तिपथ जानुभयो । आयोगको बैठक कक्षको मुख्य कुर्सीमा बस्नुभयो र मानिलिऊँ बालुवाटारमा छु भने झैँ उर्दी लगाउनुभयो । तर,त्यो भवन, कोठा र कुर्सी एउटा संवैधानिक अंगको कार्यक्षेत्र हो । उहाँ त्यतिखेर एउटा राजनीतिक समूहको अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । तर पनि कार्यकारीको भूमिका निभाएको देखियो ।
त्यसबखत उहाँले आयोग पदाधिकारीहरूलाई भन्नुभयो ‘निर्वाचन घोषणा भइसकेपछि पार्टीको विवाद हेर्न मिल्दैन । तपाईंहरूकै नियम,कानुनले पनि मिल्दैन ।’ यता आयोगले सम्बन्धित नियम संशोधनको लागि कानुन मन्त्रालयको सहमतिमा राजपत्रमा प्रकाशित गर्न पठाएको धेरै भइसकेको छ । तर आजका मितिसम्म प्रकाशित भएको छैन । त्यसैलाई टेकेर अप्रत्यक्ष रूपमा धम्क्याउँदै उहाँले आयोगलाई खबरदार दायाँ बायाँ होइन है भन्न जानुभएको विश्लेषकहरूको बुझाई छ ।
प्रधानमन्त्री आयोग जानुको अर्को अप्रत्यक्ष दबावचाँहि अहिलेसम्म ओलीले सूर्य चिन्हबाहेक अरुबाट चुनाव नलडेको सन्देश दिनलाई हो भनिन्छ । हिन्दीमा एउटा उखान छ ‘म जहाँ उभिन्छु,लाइन त्यहीँबाट शुरु हुन्छ’ भनेझैँ उहाँको अभिव्यक्ति ठ्याक्कै त्यहि देखिएको थियो । उहाँको तर्कको सार थियो ‘म जहाँ उभिन्छु सूर्य चिन्ह त्यहिँ हुन्छ अनि पार्टीको आधिकारिकता पनि त्यहिँ हुन्छ । केन्द्रीय सदस्यको संख्या,बहुमत, कानुन,विधानको के मतलब ?’
त्यसैगरी उहाँले कानुन,नियम, संविधान हेरेर निर्णय गर्नुस् भनेपनि सारमा कानुन भनेकै मै हुँ भन्ने हो । उहाँले अप्रत्यक्ष रूपमा आयोग पदाधिकारीलाई ‘मलाई हेरेर निर्णय गर्नुस्’ भन्नुभएको हो । किनभने यसअघि माघ ११ गते नेकपाको दुवै पक्षबाट आधिकारिकताको औपचारिक दाबी नपरेकाले विवरण अद्यावधिक गर्न सकिएन भन्ने आयोगको निर्णयलाई उहाँले ‘पटक पटक एउटै विषयमा निर्णय गर्न पाईंदैन है’ भन्ने आशयले कुरा राख्नुभएको स्रोतको दाबी छ । प्रधानमन्त्री आयोग जानुको सतही अर्थ ‘दायाँबायाँ किन लागेको ? पहिले जे नियम छ त्यहिअनुसार गर्नु । म जहाँ उभिएको छु सबै कुरो त्यहि हो’ भन्ने देखिन्छ ।
तर,उहाँको वास्तविक अर्कोरूप पूर्ण रूपमा फरक रहेको भनेर बताउनेहरू पनि कम छैनन् । उहाँलाई कतै भित्रभित्रै निर्वाचन आयोगले चुनाव गराउने पो हो कि भन्ने डर र संशय पनि छ । त्यसैले उहाँका दुईवटा रूपमध्ये भित्र एउटा र बाहिर देखाउने अर्को रहेकोमा कुनै शंका छैन । भित्री मनमा आफूले आधिकारिकता नपाउने कुरो प्रधानमन्त्री जत्तिको चतुर खेलाडीलाई थाहा नहुने भन्ने नै हुँदैन । तर, बाहिर गएर र भीडमा कुर्लंदा व्यक्त धारणा भने देखाउने दाँत मात्र हो । किनभने अघिल्लो साता दरबारमार्गको भीडलाई सोध्नुभयो ‘आधिकारिकता कसलाई ?’ भनेर,अनि भीडले भनिदिएको थियो ‘बा’ लाई । त्यहि सन्देश दिन आयोग जानुभएकोमा कुनै अलमल गर्न नपर्ने स्रोत बताउँछ ।
उहाँले यसअघि पटक पटक संसद विघटन असंवैधानिक हो भन्नेहरूलाई संविधान विरोधी, लोकतन्त्र विरोधी र देशद्रोहीको विशेषण भिराइ दिनुभएको छ । निर्वाचन आयोगमा जानुको तात्पर्य केपी ओली निर्वाचन गराउन चाहँदैन भन्ने धारणालाई ‘छोपछाप’ गर्नु पनि हो । त्यसो गर्दा भोलिको दिनमा मैले तयारी गरकै थिएँ तर,निर्वाचन आयोगले सकेन,गरेन,दलहरूले किचलो गरे भनेर हलो अड्काउने मार्ग प्रशस्त गरिएको हो ।
उहाँ भोलिका दिनमा मेरो कारणले चुनाव सरेको होइन भन्ने पार्न पनि आयोग जानुभएको हो । किनकि आफैँले घोषणा गरेको चुनाव गर्न सकिएन भने जनमत स्वतः विरुद्धमा उर्लिन्छ । त्यसको जवाफ दिन बेलैमा अपनाइएको दोस्रो रणनीति हो बहादुर भवन यात्रा ।
टिप्पणीहरू