रामकुमारीको रिहाइका निम्ति रिट : प्रधानमन्त्रीलाई विपक्षी बनाइयो
प्रहरीले आज दिउँसो पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी गरिएकी कम्युनिस्ट नेत्री रामकुमारी भाँक्रीको रिहाइनिम्ति आजै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । प्रहरीले पक्राउ गर्दा दिन ढलिसकेकोले रिट लेख्दालेख्दै ३ बजेर कानुन व्यवसायीहरू सर्वोच्च पुग्दा चार बजिसकेको थियो । आजै पेशी चढाउने गरी योजना बनाइए तापनि रिट दर्ता गर्न सफल भएको रिट तयारमा संलग्न कानुन व्यवसायीहरूले बताएका छन् ।
प्रहरी प्रशासनले नाङ्गो तरिकाले गरेको झाँक्रीको पक्राउलाई सत्ताको आलोचना गर्नेलाई हामी देखाइदिन्छौं भन्ने मनशायको रुपमा नागरिक अगुवाहरूको बुझाई छ । भोलि र पर्सि सार्वजनिक बिदा भएकाले झाँक्रीलाई कम्तिमा दुई दिन थुन्ने योजनाबमोजिम आज पक्राउ गरिएको देखिन्छ ।
यता,बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ । सामान्यतयाः यस्तो रिटमा प्रधानमन्त्रीलाई विपक्षी बनाईंदैन । यो मुद्दामा पहिलो पटक विपक्षी बनाइएको हो ।
रिट निवेदनको क्रममा अदालत प्रशासनले प्रधानमन्त्रीलाई विपक्षी बनाउने चलन नभएकाले हटाउन भनेपनि कानुन व्यवसायीहरूले उक्त आग्रहलाई अस्वीकार गरिदिएका थिए । उनीहरूले ‘बरु दरपीठ गर्नुस्, हामी ब्याक हुँदैनौं’ भनेपछि अदालत गल्न बाध्य भएको थियो । त्यसअघि निवेदकहरूसँग रजिष्ट्रार र मुख्य रजिष्ट्रारले लामो समयसम्म त्यसैवारे छलफल गरेका थिए । उनीहरूवीच ‘परम्परा भत्काउने ?’ भन्दै चर्काचर्की नै परेको थियो । तर,निवेदकहरूले प्रधानमन्त्रीको ठाडो आदेशबाट झाँक्रीलाई पक्राउ गरिएकाले आफूहरूले प्रधानमन्त्रीलाई विपक्षी बनाएको बताए ।
त्यसबीच एकजना कर्मचारीले प्रधानमन्त्रीविरुद्ध भनेर लेखिएको विपक्षीको निवेदनमा गृह मन्त्रालयको मात्र नाम हालेर दर्ता गर्न खोजेपछि एकछिन चर्काचर्की नै परेको बताइन्छ । त्यहि क्रममा कानुन व्यवसायीहरूले ‘लोकतन्त्रमा प्रधानमन्त्रीविरुद्ध समेत उजुुरी हाल्न नपाइने हो भने अदालत सेटिङ्गमा चलेको छैन भन्ने ग्यारेण्टी के ?’ भनेर सोधेका थिए ।
त्यसबीच ‘संवैधानिक परिषद्को नियुक्तिविरुद्ध परेको रिट निवेदनमा डेढ महिनासम्म चुईंक्क नबोल्ने अदालतले कानुनी व्याख्या,नजिर र मान्यताको कुरो गर्नु बेकार रहेको’ समेत कानुन व्यवसायीहरूले बताएका थिए । त्यसपछि पुनः प्रधानमन्त्रीलाई समेत विपक्षी बनाएर सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
यसैबीच झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि साँझ ६ बजे रिहा गरेको छ ।
टिप्पणीहरू