बादल,ओली र भर्खरैको बबाल
राष्ट्रिय युवा संघको हालै आयोजित बैठकमा नेकपा ओली समूह पक्षधरहरूबीच नै बवण्डर मच्चिएको छ । ओली खेमासङ्ग विभाजनपछि अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटहरूको स्थानमा बादल समूहले दाबी गर्दै आएको थियो । सम्मेलनबाट नयाँ नेतृत्व छनौटमा ६० र ४० प्रतिशत भाग लगाउनुपर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षको माग थियो । तर,पूर्वएमालेको ओली समूहभित्रै तीन वटा गुट देखिएको र बादलनिकट पूर्वमाओवादीहरूलाई नेतृत्वमा ४० प्रतिशतको सट्टा ४ प्रतिशत मात्रै दिने भनिएसङ्गै उक्त समूहले बहिष्कार गरेको बताइन्छ ।
युवा संघमा पकड जमाउँदै आएको बस्नेत समूहले बादल समूहलाई महासचिव एउटा र अन्य चार जना पदाधिकारी मात्र दिने भनेपछि बिरु तामाङ्ग समूहले बहिष्कार गरेको थियो । अहिलेको हिसाबले पनि १३ जना सचिव पाउनैपर्ने उनीहरू बताउँछन् । अहिले ५ सय १ जनाको ठूलो केन्द्रीय कमिटी बनाइएको सन्दर्भमा १३ जना सचिव पाउनैपर्ने उक्त समूहको अडान रहेछ ।
बादल निकट समूहको प्रमुख माग नै ४० प्रतिशतको साझेदारी हो । उनीहरूले कमिटी कुन संख्याको बनाउने हो सोहीअनुसार पदाधिकारीको माग र अडान राख्दै आएका थिए । तर उक्त माग र अडानलाई अर्को पक्षले बालमतलब गरेको देखिएन । उनीहरूले इञ्चार्ज एउटाको भए सहसचिव अर्कैको राख्नुपर्ने बताएका थिए । पूर्ववाइसीएलका एकजना भन्छन् ‘समानुपातिक भागबण्डा खोजिएको हो ।’
नेकपामा आएको विभाजनसँगै रामप्रसाद सापकोटा ‘दिपशिखा’ को नेतृत्वमा २ सय जना छुट्टिएर प्रचण्ड नेपाल समूहतिर लागेपछि पहिलेको केन्द्रीय समितिमा ओलीका सय र बादल निकट ४५ जना रहेका थिए । पार्टीमाझैं एमाले र माओवादीबीच यसबीच एकताको काम सकिएको छैन । संयोजक र सहसंयोजक मात्र तोकिएको छ । त्यस्तो अवस्थामा ४० प्रतिशत माग्नुलाई बादल निकट युवाहरूले जायज भन्दै आएका छन् ।
यसबीच सक्रिय भएका एकजना पूर्ववाईसीएल कार्यकर्ता भन्छन् ‘उनीहरूतर्फ तीन पटक केपी ओली जिन्दावाद भनेपछि युवा संघको सदस्य हुने व्यवस्था रहेछ । विचार र संगठन त कुन चराको नाम हो पत्तै छैन ,’ उनले थपे ‘जबज भनेको के हो भन्ने कुरो केपी र ईश्वर पोखरेललाई मात्र थाहा भएको र अरुलाई मतलब नभएको देखियो ।’
यता,सूर्य सुवेदी ‘पथिक’ बादलको राजनीतिक सल्लाहकारबाट अलग्गिएपछि अहिले बिरु तामाङ उक्त भूमिकामा देखिएका छन् । तामाङ भक्तपुर नगरकोटका वासिन्दा हुन् । भेलामा पूर्व एमाले समूहवीच मारामार भई बादल समूहले बहिष्कार गरेपछि गृहमन्त्रीले प्रधानमन्त्रीसँग बसेर बिबाद टुुंग्याउने आश्वासन दिनुभएको बताइन्छ । तर,युवाहरूले केपी ओलीको निम्ति युवा संघको शक्ति र अरुका निम्ति समस्या भनेकै महेश बस्नेत रहेको निश्कर्ष निकालेका छन् । पूर्व वाईसीएलहरूको अनुभव छ ‘यिनले पनि ओलीबाहेक अरु कसैलाई नटेर्ने रहेछन् ।’
गत साताको मोटरसाइकल र्यालीमा पूर्वमाओवादीहरूको संख्या बढी रहेको तामाङ समूहको दाबी छ । अस्तिको आमसभामा पनि पूर्वमाओवादीहरूलाई कुनै भूमिका नदिइएको उनीहरू बताउँछन् । आमसभामा व्यक्तिगत बाहेक सांगठनिक हिसाबले बादल समूहका कसैलाई पनि न बोलाइएको थियो,न पुछिएको थियो ।
अहिले बादलसँग निकट भनिएकामध्ये युवा संघको नेतृत्वमा बाग्मती प्रदेश समन्वय समितिको संयोजक शिशिर छन् । वाइसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको पूर्ण एकीकरण नभइसकेकाले बाँकी काम गर्न बादल समूहमा एउटा समन्वय कमिटी बनाइएको छ । तर,त्यो कमिटीको अहिले कुरै सुन्न छाडिएको छ ।
पूर्वमाओवादी समूहमा रहेका पूर्ववाईसीएल युवाहरू आफू एमाले निकट युवाभन्दा चेन अफ कमाण्डमा फिट रहेकाले भोलिको निम्ति कुनै समस्या नरहेको बताउँछन् । उनीहरुको आरोप छ ‘बस्नेततर्फ लथालिङ्ग अवस्था छ ।’
त्यसको सोझो उदाहरण गत साताको बाइक र्यालीलाई लिन सकिने उनीहरुको निश्कर्ष हो । त्यसमा बादल समूहको उपस्थिति बढी रहेको र बस्नेतहरुले पठाओ र टुटल प्रयोग गरेको यो खेमाको आरोप छ ।
पूर्ववाइसीएलका बादल निकट एकजना नेता भन्छन् ‘हाम्रा अधिकांश कार्यकर्ता थिए भने एमालेले पैसा तिरेर पठाओ र टुटल कुदायो । किनभने पठाओ र टुटुल उनीहरूका मान्छेले दर्ता गरेका छन् । तर माओवादीका वैचारिक कार्यकर्ता भएकाले आफैँ उपस्थित भए ।’
पूर्वएमाले निकटहरुले रमेश पौडेललाई केही दिन संयोजक बनाएपनि अहिले बचनसिंहलाई अध्यक्ष बनाइएको छ । उनी चालिस कटेपछि बस्नेतले अरुलाई नै अध्यक्ष बनाउने योजना बुनेको बताइन्छ । यसबाट केन्द्रीय कमिटीमा बस्नेत समूह एक्लौटी ढंगले हाबी रहेको बादल निकटहरु बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएको युवा संघमा महेश बस्नेत र अखिलमा माधव ढुङ्गेल आएपछि हो भन्नेहरू थुप्रै छन् । त्यसैले अहिले युुवा संघको सम्मेलन बहिष्कार गरेकाहरुले ओलीले आफूहरुलाई युज एण्ड थ्रो बनाउने शंका गर्न थालेका छन् । भन्छन् ‘युवासंघको बबालले त्यसलाई देखाइदिएको छ ।’
बस्नेत टोलीसँग एमालेकै अर्को समूहको हानाहानपछि पूर्वमाओवादी टिम केही हच्किएको छ । उनीहरु अब भोलि बादल जता जान्छन् त्यतै जाने मुडमा रहेको बताउन थालेका छन् । अस्ति कुटाकुट र घाँटी समात्ने हदसम्मको झडप हुँदा बीरुहरू तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासल सामुन्नेको होटलमा बसेर रमिता हेरिरहेका थिए ।
बिरु समर्थित एकजना युवा भन्छन् ‘हामीसँग बादल समूहले ल्याएको राजनीतिक एजेण्डा छ । विगतमा दुःख पाएका कार्यकर्तालाई जिम्मेवारी दिएर समेट्ने योजना छ । तर, एमाले हरुसँग विचार र लक्ष्य केही पनि छैन । उनीहरुमा बालुवा खानी सञ्चालन गर्ने र टुटल,पठाओ चलाउनेहरूको बाहुल्यता देखिन्छ ।’
टिप्पणीहरू