रामकुमारी छुटिन्,आदेश दिने श्रीमान कुरेको कुर्यै

रामकुमारी छुटिन्,आदेश दिने श्रीमान कुरेको कुर्यै

नेकपा (बहुमत) की नेतृ तथा विघटित प्रनिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको अपराधमा सोधपुछ गर्ने नाममा बिहीबार ६ घण्टा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा,बानेश्वरमा राखेर सामान्य सोधपुछपछि साँझ ६ बजेतिर श्रीमानको जिम्मामा छाडिएको छ । एउटी जनप्रतिनिधिले आफ्नो सँस्था विघटनको असंवैधानिक प्रक्रियाको सन्दर्भमा गोरखामा आयोजित कार्यक्रममा बोलेको विषयमा राज्यले तिललाई पहाड बनाएको हो । त्यहि तिलको पहाडमा टेकेर प्रधानमन्त्रीले दिनुभएको प्रत्यक्ष निर्देशनमा राज्य विरुद्धको अपराधअन्तर्गत झाँक्रीलाई पक्रनुको भित्री उद्देश्य ‘छोरी कुटेर बुहारी तर्साउने’ रहेको विश्लेषण गरिएको छ ।

आफ्नै कारणले प्रधानमन्त्री चौतर्फी घेराबन्दीमा पर्न थालेपछि वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी चालिएको धेरैवटा कदममध्ये बिहीबारको पक्राउ पछिल्लो थियो । बुधबारको नेकपा (बहुमत) को बृहत् विरोध प्रदर्शन र आमसभामा समेत समसामयिक धारणा राखेकी झाँक्रीलाई राज्यले भोलिपल्टै पक्रनुको पछाडिको कारण नेकपा (बहुमत) पक्षका नेता तथा कार्यकर्ताको मनस्थितिलाई कमजोर बनाउनु देखिन्छ ।

त्यसैगरी अघिल्लो साता गोरखामा बोलेको विषयलाई गृह मन्त्रालय हुँदै हालिएको निवेदनको आधारमा एक सातापछि पक्रनुको अर्को कारणचाँहि कानुनले नमिले पनि दुई चार दिन चिसो सिँढीमा जाक्ने नियत प्रष्ट छ । शुक्रबार ल्होसारको सार्वजनिक बिदा र त्यसपछि शनिबार परेकाले कम्तिमा पनि ७२ घण्टा खोरमा थुन्न सकिने निश्कर्षपछि हिजोको दिन चयन गरिएको स्रोतको दाबी छ । त्यसो गर्दा अदालत नै नपुगी केही दिन खोरमा थुन्न सकिन्छ है भन्ने बाहुबल प्रष्ट हुन जान्छ ।

प्रहरीको सोधपुछमा झाँक्रीले ‘आफू संवैधानिक राष्ट्रपतिप्रति प्रतिबद्ध रहेको तर,संविधानको भाग ३,मौलिक हक र कर्तव्यअन्तर्गत धारा १७ को स्वतन्त्रताको हक,उपधारा (२) (क) को विचार र अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्नु कुनै अनर्गल प्रचार नठहरिने ’ बताएपछि राज्य उहाँलाई रिहा गर्न बाध्य भएको थियो ।

प्रहरीले मध्यान्ह १२ बजे जर्बजस्ती निवासबाट पक्रन खोजेपछि समर्थकले ठूलै विरोध गरेका थिए । नागरिक समाज,मानव अधिकार आयोग,सञ्चार जगत,राजनीतिक दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालसहित भौतिक उपस्थितिमै सरकारको चर्को बिरोध गरेका थिए । नेकपाका धेरैजना नेता तथा कार्यकर्ता झाँक्रीलाई भेट्न मीनभवन पुगे । त्यसरी भेट्नेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ,पूर्वमन्त्रीद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई तथा नेताहरू ठाकुर गैह्रेलगायत मुख्य थिए ।

सरकारको ठाडो निर्देशनमा झुठो आरोपमा पक्राउ गरिए पनि प्रहरीले झाँक्रीसँग छ घण्टा बयान लिएको थियो । एसपी,डीएसपी, इन्सपेक्टर गरी छ जना जनशक्ति बयानमा खटिएको थियो । तर, छ घण्टामा प्रहरीले पाँच प्रश्नको तीन पृष्ठको बयान लिन सक्यो । गोरखामा व्यक्त बिचारले राज्य विरुद्ध अपराध गरेको आरोप प्रमाणित हुन नसकेको र फौजदारी अभियोग लगाउन नसकिने भन्दै रिहा गर्नुपर्ने निश्कर्ष निकालेपछि झाँक्रीको पक्राउ सरकार, प्रधानमन्त्री र शीतल निवासको लागि हिन्दी भाषाको प्रख्यात उखानझैँ ‘खोदा पहाड,निक्ला चुहा’ भएको छ । प्रहरीले हिजो बयान नसकिएको भन्दै थुन्ने म्याद थप्न जिल्ला अदालत काठमाण्डौ लाने भनी आदेशको निम्ति न्यायाधीश प्रकाश ढुंगानालाई बेलुकासम्म स्ट्याण्ड बाइ रहन आग्रह गरेको थियो । तर,प्रहरीले नै छाडेपछि अदालत लानै परेन ।

 

टिप्पणीहरू