गणेश बनाउने, रेडियो नेपाल बजाउने

गणेश बनाउने, रेडियो नेपाल बजाउने

नेकपा ओली समूहका नेता तथा कार्यकर्तामध्ये केहीले हात धोएर अर्को पक्षको उछित्तो काढ्न प्रविधिको दुरुपयोग गरिरहेका धेरै वटा प्रमाण भेटिएका छन् । बुधबार नेकपा (बहुमत) ले राजधानी काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको प्रदर्शन र बृहत् सभाको बिरुद्ध पनि त्यस्तै हर्कत गरिएको पाइयो ।

कार्यक्रमलगत्तै जनता टाइम्स डट कमले ‘प्रचण्ड–माधवले नेतृत्व गरेको जुलुसमै भारतको झण्डा प्रयोग,यसरी खुल्यो नेपालबिरोधी हर्कतको रहस्य’ शीर्षकमा समाचार लेख्दै भारतीय र अमेरिकी झण्डा हल्लाइएको अलग अलग फोटोसमेत प्रकाशित गरेको थियो । त्यहि समाचारलाई सरकारी प्रेस संगठनका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालमा सेयर गरिदिए । हुन तः टाइम्स पनि बस्नेत सम्पादक रहेकै अनलाइन हो । आफैँले लेखेको गलत समाचार उनी आफैँले सेयर गरेका हुन् ।

तर,नेपाल फ्याक्ट चेकर डट ओआरजीले सोही साँझ बस्नेतले सेयर गरेको फोटोलाई ‘मिथ्या फोटो’ भनेर प्रमाणित गरिदिएको थियो । राज्यको चौथो अंगमा बसेको,त्यो पनि सरकारी पत्रकार संगठनका अध्यक्षले नै यस्तो काइते काम गर्न थालेपछि नेपाली पत्रकारिता र प्रेस जगतप्रति जनताको अविश्वास बढेको गुनासो छ ।

उक्त गलत कार्यप्रति प्रतिक्रिया दिँदै पत्रकार सीताराम बरालले गणेशको फेसबुक वालमा ‘सभामा जानेहरुले नदेखेको,नजानेहरुले देखेको भारतीय र अमेरिकी झण्डा’ भनेर लेखिदिएका छन् ।

त्यसैगरी उपराष्ट्रपतिका छोरा दिपेश पुनले ‘गणेश कमरेड,जे जस्तो भए पनि तपाईं प्रतिगामी ओली समूहका पत्रकारहरुको अध्यक्ष हो । तपाईंको व्यक्तित्वले भर्खरका केटाकेटीजस्तो जिस्किन र काम बिगार्न अनुमति दिँदैन तसर्थ एकै ठाउँमा दुईवटा फोटो एडिट गरेर समय बर्बाद नगर्दा नै सही होला ।’ भनेर तिखो व्यङ्ग्य गरेका छन् ।

यता,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि रेडियो नेपालबाट साँझ ७ बजेको समाचारलगत्तै प्रशारण हुने ‘घटना र विचार’ कार्यक्रमबाट पनि नेकपा विवादसम्बन्धी समाचारमा पनपच्छे गर्दै एकलकाँटे विवरण प्रशारण हुन आएको स्रोताहरुले गुनासो गरेका छन् ।

टिप्पणीहरू