बेइजिङ्ग जान चौध दिन बाधा
पूर्वप्रधानमन्त्री तथा नेकपा (बहुमत) का वरिष्ठ नेता झलनाथ खनाल नियमित उपचारको निम्ति आज बिहान नयाँ दिल्ली प्रस्थान गर्नुभयो । यसअघि चीन र अमेरिकामा गरिएको स्नायु (न्यूरोलोजी) रोगको उपचारकै निरन्तरताको लागि उहाँ भारत जानुभएको पारिवारिक स्रोतले बताएको छ ।
चीनमा उपचार गराएपछि केही कम भएकोले यस पटक पनि उतै जाने तयारी थियो । तर,कोरोना भाइरस रोकथामको लागि चीन सरकारले अपनाएको १४ दिनको क्वारेण्टिन मापदण्डका कारण उहाँ उता जान असमर्थ भएपछि केही दिनको लागि नयाँ दिल्ली जानुभएको बताइएको छ ।
खनाल बिहान ११ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट एकजना सहयोगीका साथ त्यता जानुभएको हो । खनालको पछिल्लो केही वर्षदेखि उभिँदा र बोल्दा टाउको हल्लिने समस्या देखिएपछि चीन र अमेरिकामा उपचार गरिएको थियो ।
नेपाली र भारतीय हवाई यात्रुलाई दुई देशबीच आउजाउ गर्दा पीसीआर परीक्षणको ‘नेगेटिभ’ देखाए मात्र पुग्छ,क्वारेण्टिनमा बस्नुपर्दैन ।
टिप्पणीहरू